जीवन विकास समाजलाई ३ करोडको अन्तराष्ट्रिय पुरस्कार


ईश्वरराज ढकाल, काठमाडौं । नेपालको एक गैर सरकारी संस्थाले ३ लाख अमेरिकी डलर अर्थात ३ करोड रुपिया बराबरको अन्तराष्ट्रिय पुरस्कार पाएको छ । मोरङको कटहरी गाउपालिकामा कार्यालय रहेको जीवन विकास समाज नेपालले उक्त पुरस्कार पाएको हो ।

संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकासका लागि १७ सहश्राब्दी लक्ष्य मध्य चौथो गुणस्तरीय शिक्षाको पहुचको क्षेत्रमा उल्लेख्य कार्य गरेवापत संस्थाले द अरब गल्फ प्रोगाम फर डेभलपमेन्ट(एजिफन्ट) इन्टरनेशनल प्राइज २०१७ पुरस्कार पाएको हो ।

एजि फन्ड अन्तर्गत युनाइटेड अरब इमिरेट्स, बहराइन, साउदी अरेबिया, कतार, ओमान, र कुवेत सहित ६ राष्ट्र आबद्ध छन् । सन १९८०मा स्थापना भएको एजि फन्ड अन्तर्राष्ट्रिय संस्था हो । फन्ड संयुक्त राष्ट्र संघ जस्ता विकास साझेदार संस्थाहरु लगायत क्षेत्रीय स्तरका संघ संस्थाहरुसँको सहकार्यमा विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्दै आएको छ ।

समाजलाई जेनेभा स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा स्पेनकी महारानी सोफिया र साउदीका राजकुमार तलाल विन अजिजले संस्थाका अध्यक्ष योगेन्द्र मण्डललाई प्रदान गरिएको थियो । संसारका विकासउन्मोख १ सय ३३ मुलुकमा ९ सय ५२ विभिन्न परियोजना मार्फत काम गरिसकेको एजि फन्डले ३ सय १६ परियोजनाहरु कार्यन्वयन गरिरहेको छ ।

वार्षिक रुपमा १० लाख डलर वराबर पुरस्कार वितरण गरिने कार्यक्रम अन्तर्गत चारवटा क्षेत्र तय गरिएको सो पुरस्कार मध्य नेपालले दोस्रो तहको पुरस्कार प्राप्त गरेको हो । ४ लाख डलर बराबरको पहिलो पुरस्कारका लागि संयुक्त राष्ट्रसंघसँगको साझेदारीमा काम गर्ने अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाले मात्र प्रतिस्पर्धा गर्न पाउने , ३ लाख डलर बराबरको दोस्रो पुरस्कारका लागि सम्बन्धित मुलुकमा स्थापित गैरसरकारी संस्थाले , २ लाख डलर बराबरको तेस्रो पुरस्कार सम्बन्धित मुलुकको सरकारी निकाय र सार्वजनिक तहमा काम गर्ने व्यावसायिक संस्था र १ लाख डलरको चौथोमा पुरस्कार संस्थापक वा व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको छ । विभिन्न देशका ७६ वटा प्रतिस्पर्धीलाई उछिन्दै समाजले दोस्रो पुरस्कार पाएको हो ।

समाजका अध्यक्ष मण्डलले बिसं २०५४ सालमा गरिबी रहित नेपाल अभियानका साथ स्थापना भएको सामाजले पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा शिक्षा, स्वास्थ्य, कृषि, लघुवित्त जस्ता क्षेत्रमा आफ्ना सेवा सफलतापूर्वक प्रदान गर्दै आएको दाबी गर्नुभयो ।

संस्थाले ७ जिल्लामा ७५ वटा शाखा कार्यालयहरु स्थापना गरी झण्डै ६ सय जना कर्मचारी मार्फत करिव २ लाख विपन्न परिवारलाई लघुवित्तका साथै शिक्षा, स्वास्थ्य, कृषि, आवास, उर्जा लगायतका सामाजिक सेवाहरु प्रदान गरिरहेका कारण संस्थाले सो पुरस्कार प्राप्त गर्न सफल भएको हो –उहाले भन्नुभयो । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गरेवापन अन्तराष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष मन्डलले संस्थाले प्राप्त गरेको पुरस्कार मा ३ करोड थप गरी ६ करोड रुपिया बराबरको कोष स्थापना गरी नया परियोजना संचालन गर्ने बताउनुभयो ।

उक्त कोषलाई शैक्षिक विकासका क्षेत्र तथा दीगो विकासका क्षेत्रमा परिचालन गर्ने जानकारी गराउदै १० लाख रुपिया बराबरको पत्रकार तथा ब्यक्तिहरुलाई वार्षिक रुपमा पुरस्कार प्रदान गरिने उल्लेख गर्नुभयो । अन्तराष्ट्रिय संगठनले तय गरेको विभिन्न मापदण्ड पुरा गरेपछि छनौटमा परेका संस्थालाई एजि फन्डले समाजलाई पुरस्कृत गरेको हो ।

पुरस्कार प्राप्त गरेपछि पत्रकार सम्मेलन गर्दै समाजका कन्सल्टेन्ट ओम शर्माले पिछडिएको र अति विपन्न समुदायका बालबालिकालाई लक्षित गरी मोरङको धनपालथान गाउपालिकामा जीवन विकास पब्लीक स्कूल स्थापना गरी आधारभूत र माध्यमिक तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

यसबाट पिछडिएको समुदायका झण्डै १ हजार २ सय बालबालिकाले शहर केन्द्रित सुविधा सम्पन्न विद्यालय सरहको स्तरीय शिक्षा मार्फत प्रत्यक्षरुपमा गुणस्तरिय शिक्षाप्रदान गरेको समेत मुल्याङकन गर्दै एजि फन्डले पुरस्कार पाएका बताउनुभयो । समाजले सामुदायिक विद्यालयको व्यवस्थापकीय एवम् गुणस्तर वृद्धिमा सहकार्य, अति विपन्न समुदाय लक्षित नमूना बाल शिक्षा कार्यक्रम,सामुदायिक विद्यालयमा किशोरी लक्षित नव विहानी कार्यक्रम र उद्यमशील युवा जनशक्ति उत्पादनका लागि प्राविधिक तथा व्यावसाियक तालिम जस्ता महत्वपुर्ण कार्यक्रम संचालन गरिरहेको छ ।

सबै कामको मुल्याङकन गर्दै एजि फन्डले समाजलाई अन्तराष्ट्रिय स्तरको पुरस्कार प्रदान गरेको समाजका कोषाध्यक्ष संजयकुमार मण्डलले जानकारी दिनुयो ।