पाँचै श्रीमान नहुँदा इजलास प्रभावित


प्रशान्त वली, काठमाडौं ।
दशैपछि संवैधानिक इजलास वस्न सकेको छैन । संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक प्रकृतिसंग जोडिएका मुद्दाहरुको सुनुवाई प्रकृयामा ढिलाई भएको हो ।

न्यायाधीश दिपककुमार कार्की अमेरीका रहेकाले इजलास नबसेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘इजलासका लागि पाँचै जना श्रीमान हुनुपर्छ । उहाँ बाहीर भएकोले पनि इजलास नबसेको हो । अर्को कुरा दशैँ पछि मङगलबार र बुधबार पनि परेको छैन ।’

संवैधानिक इजलास हप्ताको दुई दिन मङगलबार र बुधबार मात्र बस्ने गरेको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू न्यायाधीशहरुले अन्य मुद्दा पनि हुनुपर्ने भएकाले संवैधानिक विषय हेर्न हप्ताको दुई दिन छुट्याइएको हो । उक्त इजलासमा संवैधानिक विवादका २२३ वटा मुद्दा सुनुवाइ हुन बाँकी रहेको सर्वोच्चले जनाएको छ ।

संविधानको धारा १३७ बमोजिम गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य ४ जना वरिष्ठ न्यायाधीशसहित ५ सदस्यीय रहने व्यवस्था छ ।

उक्त इजलासले संघ र प्रदेश, प्रदेश÷प्रदेश, प्रदेश÷स्थानीय तह तथा स्थानीयतहहरूबीचको अधिकारक्षेत्र र संघीय संसद् वा प्रदेशसभा सदस्यहरूको निर्वाचन तथा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरूको अयोग्यतासम्बन्धी विवाद समाधान गर्ने गर्दछ ।

प्रदेश, संघ र स्थानीय तहले बनाएका कानून बदर गर्न सर्वसाधारणले समेत निवेदन दिन पाउने व्यवस्था रहेको उक्त इजलासलाई मौलिक हकमा अनुचित वन्देज लगाइएमा वा संविधानसँग कानुन बाझिएमा त्यसको सुनुवाइ गर्ने अधिकार छ ।