काठमाडौं, (नेस)
गत चैतमा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्गको काम सम्पन्न भएपछि राजधानीमा दशैंअघि नै पानी आउने घोषणा गरे पनि उक्त घोषणाले सार्थकता नपाएपछि राजधानीबासी निरास भएका छन्।
मन्त्री, नेता, सरकारी उच्च अधिकारीको यस्तैखाले भाषणबाजी राजधानी र आसपास हुने प्रत्येकजसो कार्यक्रमा मेलम्चीको पानीका बारेमा कुरा भए पनि मेलम्ची कहिले आउने अझै ढुंगो लाग्न सकेको छैन।
काम पनि तीव्र गतिमै भइरहेको छ। मेलम्चीको पानी खाने आशामा रहेका राजधानीबासीको आशालाई ज्युँदो बनाउने कोसिस भने अझै जारी छ। त्यसकारण पनि मेलम्चीको पानी राजधानीमा ल्याउन नियामक निकायलाई दबाब भने परेको छ। निर्माण कम्पनीलाई मेलम्ची खानेपानी आयोजनाले बारम्बार ताकेता गरिरहेको छ भने आयोजनालाई मन्त्रालय र मन्त्रीको दबाब निरन्तर जारी छ। त्यहीअनुसार काम तीव्र गतिमा भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताउनुभयो।
‘अहिले सुरुङको फाइनल फिनिसिङ (ढलान) र भेन्टिलेसन साफ्टको काम भइरहेको छ।’ –उहाँले भन्नुभयो। बाँधको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो। उहाँका अनुसार हालसम्म २६ किलोमिटर सुरुङमध्ये १८ दशमलव ६ किलोमिटर सुरुङमा फाइनल फिनिसिङ अर्थात् ढलान गरिसकेको छ भने बाँकी ८ किमि मात्रै रहेको छ। त्यस्तै सुरुङको बीचबीचमा हावा निकाल्नका लागि भेन्टिलेसन साफ्ट राख्न ड्रिलसमेत भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘भेन्टिलेसनको सामग्री भन्सारमा आइसकेको छ। अबको २ दिनभित्र साइटमा सामान पुग्छ।’
उहाँका अनुसार २६ किमि सुरुङअन्तर्गत ३ स्थानमा हावा निकाल्नका लागि भेन्टिलेसन साफ्ट राख्नुपर्ने हुन्छ। यी कार्य र सुरुङको बाँकी रहेको ढलानको सोचेअनुसार भए अबको ४० दिनमा सम्पन्न हुनेछ। काम सम्पन्न भएपछि मेलम्ची खोलाको पानी सुरुङभित्र हालेर परीक्षण गरिने भएको छ। परीक्षण सफल भएको खण्डमा मात्रै मेलम्चीको पानी सुरुङ हुँदै सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा खसेर प्रशोधन भई राजधानीबासीले उपभोग गर्न पाउनेछन्।











प्रतिक्रिया