खण्डहर रानीपोखरी एक दिनमात्रै खुल्ने, फेरि टेन्डर निकाल्ने तयारी

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
ण्डहर बन्न पुगेको रानीपोखरी र त्यसको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण हुन नसके पनि भाइटीकाको दिन खुला हुने भएको छ।

काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको रानीपोखरीमा रहेको बालगोपालेश्वरको मूर्ति ल्याएर एक दिनका लागि मात्र खुला गर्न लागिएको हो। हाल छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको सो मूर्ति भाइटीकाको अघिल्लो दिन रानीपोखरी परिसरमा राखेर सर्वसाधारणलाई खुला गर्ने तयारी भइरहेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो।

उक्त मन्दिर हरेक वर्ष भाइटीकाको दिनमात्र खोलिन्छ। दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले मन्दिरमा भाइटीका लगाउने गर्दछन्। मन्दिरमा प्रवेश गर्न नपाए पनि भाइटीका लगाउन र सबैका लागि मूर्ति दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको प्रवक्ता कार्कीले बताउनुभयो।

विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त भएको सो मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले शुरू गरेको थियो। गत असारभित्रै पुनर्निर्माण गरिसक्ने बताइए पनि कामपासँगको विवादपछि स्थगित भएको थियो।

यसअघि कामपाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण शुरू गरेको थियो तर उक्त बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरिएको र निर्माणका क्रममा सिमेन्ट प्रयोग भएको भन्ने विषयमा विवाद भएपछि कामपाले मल्लकालीन शैलीमै मन्दिर बनाउने जनाउँदै सम्पूर्ण काम स्थगित गरेको थियो। प्रवक्ता कार्कीले मल्लकालीन शैलीमै मन्दिर बनाउने तयारी भइरहेको जानकारी दिनुभयो।

यसैबीच दोस्रो पटक बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको कामपाको टेन्डर पुनः स्थगित भएको छ। मापदण्डअनुसार बोलपत्र र आशयपत्र पेस गरेका दुई निर्माण कम्पनीको कागजात पूरा नभएपछि टेन्डर स्थगित भएको हो। दशैंअघि स्थगित भएको टेन्डर रद्द गरी पुनः आह्वान गर्ने तयारी भएको छ। कामपा खरिद इकाइ प्रमुख देवेन्द्र पोखरेलले पुनः १५ दिने टेन्डर निकाल्ने तयारी भइरहेको जानकारी दिनुभयो।

प्रवक्ता कार्कीका अनुसार एक÷दुई दिनभित्र पुनः टेन्डर आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ। १५ दिने सूचनालगत्तै छनोट भएको कम्पनीलाई तत्काल पुनर्निर्माण गर्न स्वीकृत दिइनेछ। कामपाले करिब १४ करोड रुपियाँ लागतमा पुनर्निर्माण गर्ने तयारी गरेको छ।

यसअघि वल्र्ड वाइड कँडेल के एन्ड केजी जेभीले करिब ७ करोड रुपियाँमा टेन्डर पारेर २०७३ वैशाख १० देखि काम शुरू गरेको थियो। सो कम्पनीले करिब २ करोड रुपियाँ खर्च गरी रानीपोखरी वरपर ढुंगाको पर्खाल लगाइसकेको थियो। मल्लकालीन संरचना रहेको रानीपोखरीमा बिना अध्ययन कंक्रिट वाल लगाएर संरचना विगार्न थालेको आरोप लगाउँदै स्थानीयले विरोध जनाएलगत्तै कामपाले सो कम्पनीसँग ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गरेको थियो।

अब रानीपोखरीलाई पुरातत्व विभाग र विज्ञ समितिले दिएको सुझावको आधारमा मल्लकालीन शैलीमै बनाइनेछ। भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अभियानको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७३ साल माघ २ गते गर्नुभएको थियो।

मल्लकालीन राजा प्रताप मल्लले आफ्नो माहिला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युलाई शान्त पार्न इस्बी संवत् १६६५ मा बनाएको रानीपोखरीको दक्षिण किनारामा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा महिपतेन्द्र र चक्रवर्तेन्द्रको सालिक छ। १ सय ८० मिटर लम्बाइ र १ सय ४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ। विसं १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि राणा प्रधानमन्त्री जुद्धशमशेरले रानीपोखरीको बीच भागमा रहेको मन्दिरलाई अहिलेको स्वरूप दिएका थिए। तर पुरातत्वविद् र स्थानीयले सो मन्दिर मल्लकालीन शैलीकै हुनुपर्ने आवाज उठाएपछि सोहीअनुसार टेन्डर गरी पुनर्निर्माण गरिन लागिएको छ।

यसैबीच पानी नभएको र खण्डहर भएकाले यस वर्ष छठ पर्वका दिन रानीपोखरी नखुल्ने कामपाले बताएको छ।