नेकपाको सचिवालय बैठक प्रदेश कमिटीमा पनि भागवण्डा

0
Shares

काठमाडौं, (नेस)
नेपाल कम्युनिस्ट पार्टीले प्रदेश कमिटीलाई पूर्णता दिन दुई सदस्यीय कार्यदल गठन गरेको छ। प्रदेश कमिटीलाई पूर्णता दिन र केन्द्रीय सदस्यको कार्यविभाजनसहितको प्रस्ताव पेस गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको दुई सदस्यीय कार्यदल गठन गरेको हो।

नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादी केन्द्रका बीचमा प्रदेश कमिटीलाई पूर्णता दिने क्रममा प्रदेश नम्बर २ र कर्णाली प्रदेशबाहेक अन्य पाँचवटा प्रदेश कमिटीमा ५५÷४५ को भागवण्डामा कमिटीलाई पूर्णता दिने सहमति भएको हो। दुई नम्बर प्रदेश र कर्णाली प्रदेशमा भने ५०÷५० को संख्यामा भागवण्डा गरेर प्रदेश कमिटीलाई पूर्णता दिने सहमति भएको बताइएको छ।

यसअघि कार्यदलले बुझाएको प्रतिवेदनमाथि वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ती जनाएपछि सचिवालय बैठकबाट अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुंगो लगाउने जिम्मेवारी लिनुभएको थियो। फेरि प्रदेश कमिटीलाई पूर्णता दिन र केन्द्रीय सदस्यको कार्यविभाजन गर्नका लागि कार्यदल गठन भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालयको बैठकले प्रदेश कमिटी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउन कार्यदल गठन भएको महासचिव विष्णु पौडेलले बताउनुभयो। यसअघि सर्वसम्मत सिफारिस भएका नामलाई यथावत् राख्ने र विवाद भएको नाममा सहमति कायम गरेर सचिवालय बैठकमा पेस गरिने महासचिव पौडेलले बताउनुभयो।

नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश कमिटीका पदाधिकारीसँगको छलफल र यसअघिका कार्यदलले दिएको रिपोर्टका आधारमा प्रदेश कमिटीका सदस्यहरू टुंगो लगाइने बताउनुभयो। सचिवालय बैठकले ढिलाइ गरेको भन्दै कतिपय प्रदेश कमिटीले स्थानीय तहको एकीकरणको कामसमेत अघि बढिसकेका छन्।

यसैबीच नेकपा सचिवालय बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यको कार्य विभाजनको गृहकार्य गर्ने जिम्मा पनि महासचिव पौडेल र सचिवालय सदस्य थापालाई दिएको छ। नेकपाको ९ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी बने पनि पोलिटब्युरो बन्न बाँकी छ। नेकपाका एक नेताका अनुसार १ सय ४७ सदस्यसम्मको पोलिटब्युरो गठनको गृहकार्य अगाडि बढेको छ।

दुई सदस्यीय कार्यदलले नेकपाको प्रदेश कमिटीको पूर्णता साथै केन्द्रीय सदस्यको कार्यविभाजनसहितको प्रस्ताव अब बस्ने सचिवालको बैठकमा पेस गर्नेछ।

प्रदेश कमिटी र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने जिम्मा पौडेल र थापालाई