काठमाडौं, (नेस)
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि बलात्कारको घटनामा दोषी देखिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रमुख उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरिएको छ।
उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले गठन गरेको दुई छुट्टाछुट्टै समितिले उक्त घटनामा एसपी विष्ट र प्रहरी निरीक्षक भट्टले कर्तव्य निर्वाहमा चुकेको र केही शंकास्पद गतिविधिसमेत गरेको पाइएपछि उनीहरूलाई सेवाबाट हटाउन गरिएको सिफारिस कार्यान्वयन गरेको गृह मन्त्रालयले जनाएको छ।
निर्मला हत्या प्रकरणमा प्रहरीबाट चरम लापरबाही, गैरव्यवसायी र गैरजिम्मेवारीपूर्ण व्यवहार गरी पालना गर्नुपर्ने अनुसन्धानका सामान्य कानुनी व्यवस्थासमेत पालना नभएको तथ्य फेला परेको तथा तत्कालीन प्रहरीबाट अनिवार्यरूपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा चरम लापरबाही भएको भन्दै मन्त्रालयले बर्खास्ती गरेको जनाएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बलात्कार र हत्याका घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तु र भित्री वस्त्र पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालेको तथा उक्त वस्त्र नै लोप गरेको, मृतकको शव अन्त्येष्टि गर्न पीडित परिवारलाई अनावश्यक प्रभाव, दबाब र धम्की दिएको र यसै क्रममा गरिएको सुरक्षा कारबाहीको सिलसिलामा ‘ग्राडुएल रेसपोन्स एन्ड युज अफ मिनिमम फोर्स’ सिद्धान्त नपनाएको र प्रहरीको व्यवहार तथा कार्यशैलीका कारण नागरिक तथा पीडित परिवारका सदस्यहरू प्रहरीप्रति विश्वस्त हुन नसकेको भन्दै बर्खास्ती गरेको उल्लेख गरिएको छ।
मन्त्रालयले भविष्यमा सरकारी जागिरमा अयोग्य नठहरिने गरी बरखास्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त घटनाका बारेमा एसपी विष्ट र इन्स्पेक्टर भट्टले पेश गरेको स्पष्टीकरण शंकास्पद र चित्तबुझ्दो नभएकाले प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को देहाय (क) को कसुरमा सोही नियमावलीको नियम १०९ को खण्ड (ख) बमोजिम बिहीबारबाट लागू हुने गरी बरखास्त गरिएको मन्त्रालयले जनाएको छ।
उक्त घटनापछि मुलुकभर सरकारविरुद्ध प्रदर्शन हुनुका साथै महेन्द्रनगरमा प्रहरीले चलाएको गोली लागेर सन्नी खनाको मृत्यु भएको थियो।











प्रतिक्रिया