पुष्कर बुढाथेकी, भक्तपुर,(नेस ।
रामायणका रचयीता विश्वका आदि महाकवि महर्षि बाल्मिकीको जन्म जयन्ती भक्तपुरमा एक बिशेष कार्यक्रमको आयोजना गरी मनाईएको छ । भक्तपुरमा भारद्धाज संस्कृति सम्बद्र्धन केन्द्र र हनुमानघाट सामाजिक सेवा समितिले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले वाल्मिकीले रामायण लेखनको अन्त्य भक्तपुरको हनुमानघाटमा भएको बताएका छन् ।
यसअघि वाल्मिकीले नवलपरासी र चितवनको समसार नदीमा बसेर रामायण लेखेको भनिएपनि बाल्मिकीले रामायण लेखनको अन्त्य भक्तपुरको हनुमान घाटमा आएर गरेको संस्कृति तथा इतिहासविद्हरुको भनाई छ ।
कार्यक्रममा इतिहासकार प्राज्ञ ज्ञानमणि नेपालले भक्तपुरको हनुमान घाटमा रहेको बाल्मिकेश्वर महादेव क्षेत्रको अध्ययन अनुसन्धान गरि वाल्मिकीको यथार्थ तथ्यलाई सार्वजनिक गर्नुपर्ने बताउनुभयो । इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले धार्मिक, पौराणिक, ईतिहासलाई एकिकृत गरि धर्मका बारेमा अध्ययन, अनुसन्धान गर्नुपर्ने औल्याउनुभयो । श्रेष्ठले बाल्मिकी रामभक्त हनुमानको सहयोगमा ३५ सय बर्ष अगाडि भक्तपुरको हनुमानघाट आउनुभएको प्रमाण रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बाल्मिकी महर्षिको रामायण लेखेको र तपस्या गरेको स्थान हनुमानघाटको विकास र प्रवद्र्धन गर्ने जिम्मेवारी नगरपालिकाले लिने बताउनुभयो ।
कार्यक्रममा संस्कृतिकर्मी एवम् इतिहास बिश्लेषक डा. सुरेन्द्र केसीले हिमवत खण्डको १४५औं अध्यायमा हनुमान सुर्यलाई भेट्न जाँदा सुर्यसंग ठोक्किएर चिउँडो झरेको पनि प्रमाण रहेको जानकारी दिनुभयो । हनुमानघाटसँगै रहेको बाल्मिकेश्वरको ६ सय बर्ष पुरानो शिलालेखले बाल्मिकी ऋषि हनुमानघाट आएको तथ्य रहेको भएपनि त्यो भन्दा अगाडिको इतिहासका बारेमा अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा भारद्धाज संस्कृति सम्बद्र्धन केन्द्रका अध्यक्ष चैतन्यराज देवकोटा, प्रा.डा. ऋषिराज पोखरेल, प्रा.डा. बिष्णुराज आत्रेय, प्रा.डा. शास्त्रदत्त पन्त, डा. टिकाराम अधिकारी, रामबहादुर प्रजापतिल गायतले विश्वका आदि महाकवि महर्षि वाल्मिकिले रामायण लेखन पुरा गरेको हनुमान घाटस्थल एवं बाल्मिकेश्वर महादेव मन्दिर स्थापना गरेको बताउनुभयो । विज्ञहरुले वाल्मिकीले हनुमानघाटमा पनि रामायण लेखेको आधार भेटिएको बताउँदै यसक्षेत्रमा बाल्मिकीले रामायण लेख्दाको आसन र शिवलिङ्ग एवं समाधिस्थलको अध्ययन हुनुपर्ने बताउनुभयो ।
संस्कृति र इतिहासविद्हरुले बाल्मिकीले रामायण लेखन गर्दाको तथ्य, प्रमाणको अनुसन्धान अहिलेसम्म हुन नसकेको र त्यस्ता प्रमाणहरुको अनुसन्धान गर्ने बिषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।











प्रतिक्रिया