प्रशान्त वली, काठमाडौं
गत जेठको अन्तिम साता एक युवतीले निशा अधिकारीको नामबाट ललितपुरको कुपण्डोल एरियामा बस्ने एक जना व्यापारीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइन्।
उनले कुराकानीका क्रममा ती व्यवसायीसँग मोबाइल नम्बर पनि लिएकी थिइन्। उनले पछि तिनै व्यवसायीलाई ‘तपाईंकै अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भनेर फोन गरिन्।
नभन्दै उनी असार १ गते दिउँसो ‘निशा अधिकारी’ बनेर अफिसमै पुगिन्। तर त्यहाँ पुगेपछि उनले आफ्नो वास्तविक नाम इन्दु र घर झापाको बुधबारे भएको परिचय खुलाइन्। उनले व्यवसायीले थाहा नपाउने गरी सोफामा मोबाइलको भिडियो क्यामेरा अन गरेर सबै कुरा रेकर्ड गराइन्। व्यवसायीको नजिक हुँदै छेउमै गएर अँगालो मारी चुम्बनसमेत गरेर निस्किइन्।
उनी गएको केहीबेरपछि गणेश लामा नाम बताउने व्यक्तिले निज व्यवसायीलाई इमोबाट फोन गरी सो भिडियो रेकर्ड आफूसँग रहेको बताउँदै १ करोड रुपियाँ नदिए चरित्रहत्या गर्ने धम्की दिए। उनले सो भिडियो यूट्युब र फेसबुकमा अपलोड गर्ने चेतावनी थिए।
तर यो कलाविहीन कर्तुत धेरै बेर टिक्न पाएन। उक्त व्यक्तिले धम्की दिइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा यी ‘कलाविहीन नाटककार’हरू गोरखा पालुङटारका बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी निज इन्दिरा उप्रेती नै भएको पोल खुलिहाल्यो।
प्रहरीका अनुसार लामिछाने गत मंगलबार ६ गते बेलुका गौशालाबाट पक्राउ परे भने उप्रेती हिजो बुधबार दिउँसो टेकुबाट पक्राउ परिन्। प्रहरीले दुवै जनामाथि युवती प्रयोग गरेर व्यवसायीमाथि ब्लाकमेलिङ गरेको ठहर गरेको छ।
प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले उनीहरूमाथि महिला प्रयोग गरी व्यावसायीसँग अन्तरंग भिडियो बनाएर पैसा असुल्न खोजेको अभियोग लागेको छ। उहाँका अनुसार दुवै जनालाई आपराधिक लाभको कसूरमा अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ।
भिडियो भाइरल बनाउने भन्दै १ करोडको बार्गेनिङ !











प्रतिक्रिया