निलम्बित एसपीले दिए स्पष्टीकरण

0
Shares

काठमाडौं, (नेस)
१३ वर्षीया बालिका निर्मला पन्त काण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले स्पष्टीकरणसहितको पत्र गृह मन्त्रालयमा बुझाएका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार दिउँसो एसपी विष्ट र भट्टको स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएका हुन्। एआईजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान गरी बुझाएको प्रतिवेदनअनुसार प्रहरी प्रधान कार्यालयले दशैं बिदाअगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टको बर्खास्तका लागि पत्र लेखेको थियो।

प्रहरी निरीक्षक भट्टले सोमबार प्रहरी प्रधान कार्यालयलाई स्पष्टीकरण पत्र बुझेर मंगलबार नै स्पष्टीकरण दिएका थिए। पत्र बुझेको २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्ने नियमअनुसार एसपी विष्टले बुधबार बिहान स्पष्टीकरण दिएका थिए।

स्पष्टीकरण चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ। प्रहरी नियमावलीमा आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा, आचरणसम्बन्धी कुरा बारम्बार उल्लङ्घन गरेमा, बारम्बार अनुशासनहीन काम गरेमा बर्खास्त गर्न मिल्ने व्यवस्था छ।