व्यवस्था गणतन्त्रात्मक, सोच र संस्कार राजतन्त्रात्मक !

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
सधैं ट्राफिक जाम हुने कोटेश्वर चोक एकाएक सुनसान भयो। चारैतिर गुडिरहेका सवारीसाधन पनि रोकिए। ठूलै आन्दोलनजस्तो गरी प्रहरीले सवारी साधन सञ्चालनमा हतारहतार रोक लगायो। धेरैले अनुमान गरे ठूलै दुर्घटना भयो। सर्वसाधारण यात्रुलाई समेत हिँड्न प्रतिबन्ध लगाइयो। तर त्यो कुनै दुर्घटना थिएन। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी पो रहेछ। दशैं मनाएर बुधबारै काठमाडौं फर्केका यात्रु पनि एकाएक सडक खाली भएपछि आश्चर्यमा परेका थिए।

राजनीतिक शासन व्यवस्था बदलिए पनि सोच र संस्कार नबदलिएको भन्दै सवारी चालक उत्तम पौडेलले गुनासो गर्नुभयो– ‘गणतन्त्र आए पनि राजतन्त्रको झझल्को जारी नै छ।’ राष्ट्रपतिलाई सुरक्षा दिनुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उहाँले सुरक्षाको नाममा राजा÷महाराजाकै जस्तो शैली पटक्कै मन नपरेको प्रतिक्रिया दिनुभयो।

राष्ट्रपतिको सवारी हुँदा प्रायः सडक खाली नै गराइन्छ। गन्तव्यमा हिँडेका सर्वसाधारणबीच बाटैमा अलपत्र पर्ने गर्छन्। यतिसम्म कि राष्ट्रपतिकै सवारीका कारण बिरामी बोकेर हिँडेका एम्बुलेन्ससमेत जाममा पर्ने घटना सामान्य हुन थालिसकेको छ।

राजा हुँदा पनि उही

राष्ट्रपति हुँदा पनि उही

पञ्चायती व्यवस्था ढाल्न धेरैले बलिदान दिए। जनताकै तागतमा राजतन्त्रको विधिवत् बिदाइ भयो तर गणतान्त्रिक व्यवस्था घोषणा भएको १० वर्ष बितिसम्म कथित ‘जनवादी शासक’हरूको सोच र संस्कारमा कुनै परिवर्तन आएन।

‘राजा हुँदा पनि सडकमा हिँड्न पाइँदैनथ्यो, जनताकै छोराछोरी राष्ट्रपति भए पनि त्यही हालत छ’, पैदलयात्री पुष्पा शर्माले भन्नुभयो– ‘गणतन्त्रमा पनि राजतन्त्रमा जस्तै जनतामाथि अपमान भयो।’ उहाँले सडकमा गुडेर सर्वसाधारणलाई दुःख दिनुभन्दा हेलिकोप्टर चढेर ‘महारानी’ बन्न राष्ट्रपतिलाई सुझाव दिनुभयो।

बिरामी लिएर अस्पताल हिँड्नुभएका प्रेम तामाङले राष्ट्रपतिको सवारीका कारण आमालाई समयमा अस्पताल लैजान नपाएकोमा निकै दुःख लागेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सडक नै खाली गराएर हिँड्ने राष्ट्रपतिज्यूले सोचिदिनुपर्यो, आफ्नो कारणले जनताले अनाहकमा सास्ती पाइरहेका छन् भनेर।’ कोटेश्वरबाट भक्तपुरतर्फ जाने क्रममा कोटेश्वर चोकमा रोकिएका रञ्जु मानन्धरले सर्वसाधारणलाई हिँड्न प्रतिबन्ध लगाएर राजा÷महाराजाझैँ साइरन बजाउँदै हिँड्नेहरू ‘गणतन्त्रवादी अनुहारका राजतन्त्रवादी मुर्कुटा’ भएको भन्दै आक्रोश पोख्नुभयो।

बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति भक्तपुरको प्रसिद्ध नवदुर्गा भवानीको पूजाअर्चना गर्न जाँदा/आउँदा सडक खाली गर्ने क्रममा सर्वसाधारणले दुःख पाएका थिए। उहाँ त्यहाँ करिब २० मिनेट पूजा गरेर फर्कनुभएको थियो। तर सर्वसाधारणले सास्ती पाएको गुनासो बारम्बार आए पनि जननिर्वाचित राष्ट्रपति भण्डारी र राष्ट्रपतिको सचिवालयको ध्यानकेन्द्रित हुन सकेको छैन्। यद्यपि राष्ट्रपति कार्यालय स्रोतका अनुसार यस्तो कार्यमा राष्ट्रपतिले असन्तुष्टि जनाए पनि राष्ट्रपतिको सुरक्षार्थ खटिएको नेपाली सेनाका प्रतिनिधिका कारण राजतन्त्रकै शैली अपनाउनुपरेको हो। तर नेपाली सेनाले भने राष्ट्रपतिको सुरक्षाको जिम्मेवारी सेनाको भए पनि व्यवस्थापन राष्ट्रपतिकै सचिवालयले गर्ने जनाएको छ।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले नेपाली सेनाले नै राष्ट्रपतिको सुरक्षा गर्दै आएको बताउँदै अति विशिष्ट व्यक्तिको सुरक्षामा सबै सुरक्षा निकायको सहभागिता हुने जानकारी दिनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘गृह मन्त्रालयले अति विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यविधि २०७० अनुसार नै सवारीको क्रममा सुरक्षा सतर्कता अपनाउँदै आएका छौं।’