रामकृष्ण चापागाईं, काठमाडौं
गुट उपगुटमा विभाजित नेपाली कांग्रेसको भ्रातृसंगठनहरू पनि कमजोर बन्दै गएका छन्। पार्टीको सशक्त भ्रातृ संगठनका रूपमा रहेका नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघ आन्तरिक विवादका कारण कमजोर बन्दै गएका छन्। १२औं महाधिवेशनको मिति तय गरिसकेको नेविसंघभित्रको विवादले अधिवेशन हुने नहुने अन्योल बढेको छ भने महिला संघभित्रको गुट उपगुट छताछुल्ल भएको छ।
कांग्रेसको सशक्त भ्रातृसंगठनका रूपमा रहेको नेपाल तरुण दलको त महाधिवेशन भएको दुई वर्षसम्म पनि कार्यसमितिले पूर्णता पाउन सकेको छैन। चार पदाधिकारीको भरमा चलेको तरुण दलको कार्यसमिति कहिले बन्ने अझै टु·ो लाग्न सकेको छैन। दुई वर्षअघि सम्पन्न महाधिवेशनमा शीर्ष नेताहरूले भागवण्डा गरी अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन भएको घोषणा गरे पनि कार्यसमितिका अन्य सदस्यहरू अहिलेसम्म चुनिन सकेका छैनन्। कांग्रेसभित्र रहेका चरम गुटलाई मिलाउन तरुण दलको ६१ सदस्यीय कार्यसमितिको आकार बढाएर ९५ सदस्यीय समिति बनाइएको बताए पनि अहिले तरुण दलमा चारजना पदाधिकारी मात्र रहेका छन्।
दुई वर्षअघि सम्पन्न महाधिवेशनमा सहमतिमा नेतृत्व चयन नहुने र आफूले चाहेको व्यक्ति नेतृत्वमा नआउने पक्का भएपछि पार्टीका शीर्ष नेताहरूले दुई दिन लम्ब्याएर भए पनि आफ्ना पक्षका नेतालाई पदाधिकारीमा चयन गरेका थिए।
महाधिवेशनमा अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता कृष्णप्रसाद सिटौला पक्षका उत्तम चापागाईं, महासचिवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षका नेता विद्वान् गुरुङलाई चयन गरिएको घोषणा गर्दै कार्यसमितिका बाँकी सदस्य पछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न भएको थियो।
नेपाल तरुण दललाई शीर्ष नेताहरूले भागवण्डाको अखडा बनाएपछि कांग्रेसको सशक्त भ्रातृसंगठनका रूपमा रहे पनि यसले स्थानीय, प्रादेशिक र संघीय तीनै तहको निर्वाचनमा प्रभावकारी भूमिकासमेत निभाउन सकेको थिएन। शीर्ष नेताहरूको भागवण्डामा तरुण दलका सदस्यसमेत नरहेका नेतालाई सर्वसम्मत नेतृत्व सुम्पिएपछि विवादित बनेको तरुण दलको कार्यसमितिले कहिले पूर्णता पाउँछ भन्ने जिज्ञाशामा उपाध्यक्ष उत्तम चापागाईं भन्नुहुन्छ– ‘हामीले तुरुन्त कार्यसमितिलाई पूर्णता दिनुपर्यो भनेर पार्टी सभापति शेरबहादुर देउवालाई पटक–पटक भनेका छौं, उहाँले वास्ता गर्नुभएको छैन।’
निर्वाचन सर्वसम्मत चयन भएपछि बाँकी पदाधिकारी केन्द्रीय सदस्य बालकृष्ण खाँडको संयोजकत्वमा रहेको निर्देशन समितिको पहिलो बैठकले चयन गर्ने भनिएको थियो। निर्देशन समितिले अहिलेसम्म पनि कार्यसमितिलाई पूर्णता दिन कुनै पहल गरेको छैन।
‘मैले हिजो मात्र सभापति देउवालाई भेटेर तुरुन्त कमिटी बनाउनुपर्यो भने’ उपाध्यक्ष चापागाईंले भन्नुभयो– केन्द्रीय कमिटीले पूर्णता नपाउँदा प्रभावकारी काम गर्न समस्या भएको छ। तर पनि जिल्ला सभापतिहरूको सम्मेलन, सातै प्रदेशमा प्रशिक्षणलगायत सरकारका गलत क्रियाकलापप्रति आन्दोलन प्रभावकारी रूपमा अघि बढाइरहेको उहाको दाबी थियो।
संघीय संरचनाअनुसार तरुण दललाई अघि बढाउन उपाध्यक्ष भुपेन्द्रजंग शाहीको संयोजकत्वमा विधान संशोधन गर्ने भनिए पनि त्यो कामले पनि निरन्तरता पाउन सकेको छैन।
तरुण दलको संशोधित विधानअनुसार खुलातर्फ २३, प्रदेशबाट २८, महिलाबाट ८, आदिवासी जनजाति र मधेशबाट चार÷चारजना, दलित अल्पसंख्यक बाट तीन÷तीनजना तथा थारु मुश्लिमबाट एक÷एकजना निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ।
संशोधित विधानमा अध्यक्षले दुई सचिवसहित १६ जना मनोनित गर्ने व्यवस्था गरिएको छ। तत्कालीन अवस्थामा विभाजित २ कांग्रेस एकीकरणपछि १४ वर्ष अघि ६ महिनाका लागि गठन गरिएको तरुण दलको तदर्थ कार्यसमितिको लामो समयपछि निरंकुश तरिकाले भए पनि अधिवेशन त सम्पन्न भयो तर, अहिलेसम्म कार्य समितिले पूर्णता भने पाउन भने सकेन।
तरुण दलको ६५औं स्थापना दिवसको अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा सभापति देउवालगायत सबै शीर्ष नेताहरू सहभागी हुने र देशभरका तरुण दलका सक्रिय नेताहरू पनि उपस्थित हुने भएका छन्।
◆ नेविसंघको महाधिवेशन अनिश्चित
◆ दुई वर्षमा पनि बनेन तरुण दलको कार्यसमिति











प्रतिक्रिया