रुकुममा बजार अनुगमनमा कडाई



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट तथा मुख्य बजारमा नियमित अनुगमण र निगरानीमा कडाई गरिएको छ । दशैं तिहार नजिकिए संगै बजारमा हुन सक्ने सम्भावित कालो बजारीलाई रोक्न अनुगमणमा कडाई गरिएको हो ।

यहाँको मुसिकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा खलंगा बजार, पातुखोला र बागबजारका खाद्यकिराना, होटेल, र मासु पसलमा नियमित अनुगमण गरिएको छ ।

अनुगमनको क्रममा मुसिकोटका कतिपय पसलमा अखाद्य बस्तु र म्याद सकिएको सामान भेटिएको र त्यस्तो सामान सोही ठाउँमै बरामत गरि नष्ट गरिएको छ । त्यस्तै कतिपय पसलमा मुल्यसूची नराखिएको, सरसफाईमा ध्यान नदिईएको र दर्ता समेत नगरेर पसल सञ्चालन गरेको पाइएको छ ।

अनुगमण टोलीले पहिलो चरणमा यहाँका व्यवसायीलाई सबै किसिमका मापदण्ड पुरा गरेर नगरपालिका र घरेलुमा आफ्नो व्यवसाय सुचीकृत गर्न आग्रह गरेको छ । मुसिकोट नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनार के.सीले सबै व्यवसायीलाई नियमपूर्वक मापदण्डमा रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिनु भएको छ । यदि कुनै व्यवसायीले अटेरी गरेको भेटिएमा अर्को पटकको अनुगमनमा कडा कार्बाही गरिने उपप्रमुख सुनारले जानकारी दिनुभयो ।

चाडपर्वको विशेष समयमा व्यवसायीले कालोबजारी गर्ने र यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने भएकोले बजार अनुगमण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताउनुभयो । तर मुसिकोटका व्यवसायीले चाडपर्वको समयमा मात्र गरिने अनुगमणप्रती गुणासो पोख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्