प्रदेश–३ को स्थायी राजधानीबारे बल्ल तात्यो नेकपा


नेपाल समाचारपत्र, हेटौंडा
करिब ८ महिनादेखि अन्यौलमा र अनिर्णयको बन्दी रहेको प्रदेश–३ को स्थायी राजधानीको विषयले बहुमतमा रहेका नेकपाका नेताहरुको मानसपटलमा बल्ल स्थान पाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठकमा राजधानीबारे छलफल भएको हो । आइतबार हेटौंडामा बसेको बैठकमा स्थायी राजधानीको विषयले प्रवेश पाएको थियो । मुख्यमन्त्री निवासमा भएको बैठकमा राजधानीको विषयले प्रवेश पाएको छ ।

बैठकमा एजेण्डाहरुको विषयमा जानकारी दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले अब संसद्मा प्राथमिकता पाउने बताउनुभयो । प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले सोमबार बस्ने प्रदेशसभा बैठकमा स्थान पाउने बताउनुभयो । स्थायी राजधानीको विषयमा सबैको चासो रहेको भन्दै उहाँले यसबारे गम्भीर छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

सोमबार बस्ने प्रदेशसभा बैठकमा राजधानीबारे छलफल हुने प्रदेश सभामुख सानुकुमार श्रेष्ठले पुष्टि गर्नुभयो । उच्च अदालत इजालस हेटौंडामा हेटौंडाका अधिवक्ता धुव्रप्रसाद चैलागाईंले असार २७ गते प्रदेश सरकार, मुख्यमन्त्री पौडेल, प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँलगायतलाई विपक्षी बनाएर मुद्धा दायर गरेपछि अन्यौलता छाएको थियो ।

नेपालको संविधानको धारा १ सय ९१ अनुसार प्रदेशसभामा प्रदेश राजधानीबारे बहसमा समेत कानुनीरुपमा बन्देज लागेको थियो । उक्त धारामा ‘नेपालको कुनै अदालतमा विचाराधीन मुद्धाका सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्यपालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा प्रदेशसभामा छलफल गरिने छैन’ भन्ने उल्लेख छ ।

१५ दिनभित्र जवाफ दिन अदालतको निर्देशनअनुसार मुख्यमन्त्री पौडेल, प्रमुख विपक्षी दलका नेता बानियाँलगायतले उक्त विषय प्रदेशसभाको भएको जिकिर गर्दै लिखित जवाफ पेश गरिसक्नुभएको छ । उहाँहरुले उक्त रिट निबेदन खारेज गर्नपर्ने जिकिर गरी लिखित जवाफ पेश गर्नुभएको हो ।