महानगर व्यवस्थित बनाउन अभियान सञ्चालन


कृष्णउदास खनाल, वीरगन्ज
मुलुककै प्रमुख प्रवेशद्वार वीरग्न्ज महानगरपालिका अस्तब्यस्त हुन थालेपछि सुधार अभियान सुरु गरिएको छ ।

महानगरलाई ब्यवस्थित बनाउनका लागि सवारी चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउन र वीरगन्जको ट्राफिक व्यवस्थापनका लागि अभियान सुरु भएको हो । ‘व्यवस्थित वीरगन्ज’ अभियान अन्र्तगत ट्राफिक व्यवस्थापन पहिलो नम्बरमा पर्ने भएकाले यो अभियान चलाइएको ट्राफिक शिक्षा उपसमितिका संयोजक सरोज चौधरीले बताए ।

सोही क्रममा वीरगन्जको पावरहाउस चोक, मुर्ली, घण्टाघर, माईस्थान, आदर्शनगर र रजतजयन्ती चोकसम्म विभिन्न विद्यालयका विद्यार्थीहरुलाई स्वयंसेवक ट्राफिकको रुपमा खटाइएको छ ।

बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म ट्राफिक प्रहरी र स्वयं सेवक ट्राफिक मिलेर सवारी चालकहरुलाई ट्राफिक नियमको पालना गर्न लगाइएको अभियन्ताहरुले बताएका छन् । ड्युटीमा खटिएका ट्राफिक प्रहरी र स्वयं सेवक छात्रछात्राहरुले जेब्रा क्रसिङबाट बाटो काट्न, हेलमेट राम्रोसाग लगाउन, गाडी चलाउँदा वा सडकमा हिँडडुल गर्दा फोन प्रयोग नगर्न, सडकको किनाराबाट मात्रै हिड्न, मोटरसाईकलमा तीन जना नचढ्न सल्लाह दिएका थिए ।

त्यसरी नै महानगरपालिकालाई ब्यवस्थित बनाउनका लागि युवाहरुको समूह सरसफाईमा जुटेको छ । महानगरपालिकाका मेयर बिजय सरावगीलाई नै साथमा लिएर ब्यवस्थित वीरगन्ज अभियान संचालन गरिएको वीरगन्जका युवा दीलिपराज कार्कीले बताए ।