इलामका चार स्थानमा बीओपी राख्ने तयारी


गणेश घिमिरे, इलाम
सीमा सुरक्षा बढाउन भारतसंग सिमा जोडीएको इलामका चार स्थानमा बोर्डर अब्जरबेशन पोष्ट (बिओपी)राख्ने तयारी भएको छ । सीमा वारपार हुने अपराधलाई रोक्न पोष्ट राख्न लागेको हो । पहिलो पटक इलामका चार स्थान छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा सीमा सुरक्षा पोष्ट राखिन लागेको हो ।

सीमा क्षेत्रको सुरक्षा, अपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्येश्यले बिओपी राख्न लागेको हो । इलामको श्रीअन्तु गुल्म गुल्मवाट गणमा स्त्तरउन्नती भएपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर गण इलाामले सीमा सुरक्षाकालागि पोष्ट खडा गर्ने भएको हो ।

उक्त पोष्ट पाँचथरको दुई स्थान प्राङवुङ र चिवाभञ्ज्याङ, ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांकामा स्थापना हुनेछन् । भारततर्फ हरेक ३ किलोमिटरमा एसएसबी रहेपनि नेपालतर्फ सीमा क्षेत्रको सुरक्षामा प्रशासनको उपस्थिती शुन्य भएको गुनासो आउने गरेको थियो । प्रत्येक १३ किलोमिटरमा बिओपी रहने गरी पोष्ट स्थापना हुने छन् । २०७५ जेठ २७ गते मन्त्री परिषदको निर्णय अनुसार गत साउन १३ गते श्रीअन्तु गुल्मलाई स्तरउन्नती गर्दै गणमा परिणत गरिएको थियो ।

सीमा सुरक्षा र क्रस बोर्डर क्राइम कन्ट्रोलमा ठूलो मद्दत पुग्ने

पशुपतिनगरस्थित पुरानो भन्सार कार्यालयमा रहने पोष्टमा सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा ३५ जनाको टोली वस्नेछ । दशैं अघि नै पोष्ट स्थापना गरीसक्ने गणका सशस्त्र प्रहरी उपरिक्षक विदुर खड्काले जानकारी दिए । अन्य स्थानमा पोष्ट राख्न जग्गासहित बासस्थान व्यवस्थाका लागि जिल्ला सुरक्षा समितिवाट सिफारिश भएको बताइएको छ ।

सन्दकपुरदेखि रोङ गाउ“पालिकाको सलकपुरसम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्र भारतीय सिमा क्षेत्रमा पर्दछ । त्यस्तै पाँचथरको भारतसँग जोडिएको ४४ दशमलव ३८ किलोमिटर सीमा क्षेत्र पर्छ । ताप्लेजुङको ६१ दशमलव ६ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ भने ७२ किलोमिटर सीमा चीनतर्फ जोडिएको छ । संखुवासभाको ८१ दशमलव ५ किलोमिटर क्षेत्र चीनसँग सीमा जोडिएको क्षेत्र हो ।

सीमा पिल्लर हराउने, दशगजा क्षेत्रको अतिक्रमण हुने, सीमा क्षेत्रमा अतिक्रमण हुने लगायतका गुनासोहरु आउने गरेका छन् । पोष्ट राखेपछि सीमा सुरक्षालगायत शान्ति सुरक्षामा सुधार हुने खड्काको भनाई छ । एउटा सीमा सुरक्षा बाहिरी पोष्टले झण्डै १५ देखि २० किलोमिटर दूरी हेर्नुपर्छ । सँगैको भारतीय सीमा सुरक्षा बलको एउटा पोष्टले दुई दशमलव ५ किलोमिटर सीमा क्षेत्रमात्र हेर्छ । पहिलेको तुलनामा सीमा सुरक्षा र क्रस बोर्डर क्राइम कन्ट्रोलका लागि यसले निकै ठूलो राहत दिने छ ।