विदेशिने युवाको संख्या बढ्दो, घरधन्दा महिलाको जिम्मामा


विनोदसिंह विष्ट, बैतडी
देशमा रोजगारीका अवसर नहँदा विदेश पलायन हुने युवाको संख्या बढ्दो क्रममा रहेको छ । बैतडीवाट पनि खाडी मुलुक जाने युवाको संख्या बढ्दै गएको छ ।

गत आर्थिक बर्ष २०७४/७५ मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार १० जनाले राहदानी बनाएका छन् । स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जान तम्सिएका यूवाहरुले राहदानी लिएका हुन् ।

आर्थिक बर्ष २०७३÷७४ भन्दा गत आर्थिक बर्षमा तीन सय बढीले राहदानी लिएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा ९८ जनाले राहदानी बनाउन सिफारिस बनाएका छन् । देशमा रोजगारीको अवसर नपाएपछि बेरोजगार युवा विदेशिने क्रम तीव्र बढेको छ । रोजागारीका लागि भारत मात्रै जाने गरेका बैतडीका नागरिक पछिल्लो समयमा अन्य देशमा जाने क्रम पनि बढेको छ । यो क्रम वर्षेपच्छिे बढ्ने गरेको पाइएको छ ।

गाउँमा रोजागारीका अवसर नभएरपछि यूवाहरु विदेश जानका लागि राहदानी बनाउन आउने गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताउनुभयो । स्वदेशमै रोजगारीको सम्भावना हजारौं युवाहरु विदेशिन बाध्य भएका दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गणेश विष्टले बताउनुभयो ।

स्थानीय सरकारहरुले पनि यूवा रोजगारीमा त्यति चासो नदिएकाले विदेश जाने यूवाको संख्या बढ्दै गएको छ । विदेशबाट कमाएको पैसाले घरधन्दा धान्नका लागि यूवाहरु विदेशिने गरेका हुन् ।

देश संघिय संरचनामा गएर पनि स्थानीय सरकार आईसकेको अवस्थामा समेत रोजगारीको सिर्जना हुन सकेको छैन् । निर्वाचनको बेला घरघरमा रोजगारीको आश्वसन दिएका नेताहरुले समेत रोजगारी सिर्जनाको लागी खासै पहल गरेको देखिदैन् । यस अवस्थामा यहाँका स्थानीय तहहरुले युवा स्वरोजगारका कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।

घरधन्दा महिलाको जिम्मामा
अधिकांश पुरुषहरु रोजगारीका लागि भारत तथा बिदेश गएपछि बैतडीका अधिकांश गाउँमा कामको जिम्मेवारी महिलाहरुले समाहल्न थालेका छन् ।
कृषिका काममा समेत पछिल्लो समयमा महिलाकै सहभागिता हुने गरेको स्थानीयबासीहरुले बताएका छन् ।

अहिले धान काट्ने र भित्र्याउने चटारो चलिरहेकाले गाउँको सबै काम महिलाहरुले गरिरहेका सिगास गाउँपालिकाका सुरेन्द्र साउँदले जानकारी दिनुभयो । गाउँका पुरुषहरु रोजगारीका लागि भारत गएपछि गाउँको काम महिलाले धान्ने गरेको उहाँले बताउनुभयो ।
स्वदेशमै रोजगारीका सम्भावना नभएपछि पुरुषहरु भारत पस्ने गरेको पञ्चेश्वर गाउँपालिकाका नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।