चारवटा एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत


काठमाडौ(नेस) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका वडा नं ३ फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्तीको प्रराम्भिक योजनालाई स्वीकृत गरेको हो ।

यस्तै बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका १२ गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना र काठमाडौं जिल्ला शंखरापुर नगरपालिका ७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।

फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी, गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १३५ घरधुरी र सिर्जनशिल एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी हुनेछन् ।

पुननिर्मित घर ३ लाख नाघे
यसैबीच, पुनर्निर्माण सम्पन्न निजी आवासको संख्या तीन लाख भन्दा बढी भएको छ । प्राधिकरणका सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख ५ हजार ८ सय ८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । २ लाख ५१ हजार ५ सय २७ घर निर्माणको क्रममा छन् । निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको संख्या ७ लाख २६ हजार ९ सय १७ छ ।