दैलेखमा दैनिक भूकम्प


काठमाडौं, (नेस)
केही दिनयता दैलेखमा हरेक दिन भूकम्प जान थालेको छ । गत बिहीबारयता ४ रेक्टर वा सो सरहका दर्जनांै स–साना कम्पन दोहोरिन थालेको छ ।

बिहीबार र शुक्रबार ४÷४ रेक्टरको कम्पन गएपछि शनिबार पुनः ४ दशमलव ३ रेक्टर स्केलको कम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहीबार मध्यान्ह्र १२ बजेर ५३ मिनेटमा ४ रेक्टर, शुक्रबार राति ९ बजेर ४५ मिनेटमा फेरि ४ र शनिबार बिहान १० बजेर ५२ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको कम्पन रेकर्ड भएको छ ।

बिहीबारको भूकम्प अघि र पछि दैलेखमा पटक–पटक ४ रेक्टर स्केल भन्दा स–साना कम्पन दोहोरिरहेको केन्द्रका सिस्मोलोजिस्ट चिन्तन तिम्सिनाले जानकारी दिनुभयो । ‘गत बिहीबार ४ रेक्टरको भूकम्प जानुभन्दा करिब १ घन्टाअघि सानो कम्पन गएको थियो, आजसम्म ४ रेक्टर भन्दा स–साना कम्पन दोहोरिहेका छन्’ –आइतबार साँझ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

४ रेक्टरभन्दा माथिका तीनवटै कम्पनको केन्द्रबिन्दु सदरमुकाम दुल्लुदेखि करिब ११ किलोमिटर उत्तरतर्फ रहेको र हरेकपटकको केन्द्र नजिकै रहेको तिम्सिनाले बताउनुभयो । तर यसरी हरेक दिन कम्पन दोहोरिनुलाई ठूलो भूकम्पको पूर्व संकेत भन्न हतार गरिहाल्न नहुने भूकम्पविद्हरुले तर्क गरे ।