निर्मला हत्याकाण्डः प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै कांग्रेस नेता लेखक पनि धर्नामा


मनोज भट्ट महेन्द्रनगर, २१ असोज कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाको अनुसन्धान गर्न गठित उच्च स्तरिय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिकको माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखक पनि धर्नामा बसेका छन ।

प्रतिवेदन सार्वजनिकको माग गर्दै महेन्द्रनगरको मदन चोकमा केहि दिनयता देखि धर्नामा रहेको एक महिला अधिकारकर्मीको टोलिलाई ऐक्यवद्धता जनाउदै नेता लेखक पनि उक्त कार्यक्रममा सहभागी भएका हुन । घटना घटेको दुई महिनाभन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनु शंकास्पद भएको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा महिला अधिकारकर्मीहरु आन्दोलित छन ।

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरी प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइए पनि सार्वजनिक भएको छैन। गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी भीमदत्त नगरपालिका–२ की निर्मला पन्त बलात्कार गरी हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा फेला परेकी थिइन् । दुई महिना भन्दा बढि समय बितिसक्दा पनि अहिले सम्म घटनाको अपराधी पत्ता लाग्न सकेको छैन ।