नेविसंघ र नयाँ विधानबारे कांग्रेसले छलफल गर्ने


काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको हो ।

यसअघि गत असोज १९ गतेका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मूल पार्टीको विधानसँगै नेविसंघको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो २ बजे बैठक बस्न लागेको जानकारी दिए ।

नेविसंघको विधान टुंगो नलाग्दा कात्तिकमा गर्ने भनिएको १२ औं महाधिवेशन नै अन्योलमा परेको छ । मूल पार्टी र नेविसंघको विधानसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।