नेकपा सचिवालय बैठक बस्दै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

पार्टीभित्रको विवादका विषयमा  छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार आज दिउसो ४ बजेका लागी वोलाईएको छ । पार्टीका वरिष्ठ नेता माधव नेपालले चर्को असन्तुष्टि जनाएपछि मुख्यगरि त्यही विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक आज बोलाइएको हो।

अध्यक्षद्वय ओली र दाहाल विदेशमा रहेका बेला वरिष्ठ नेता माधव नेपालले स्थायी समितिका सदस्यहरूको भेला गरेर प्रदेशका पदाधिकारी चयनको निर्णयप्रति लिखित रूपमै असहमति जनाएका थिए।

प्रदेश पदाधिकारी चयनको प्रक्रिया र मापदण्डप्रति नेपालले असन्तुष्टि जनाइरहेका छन् । संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केकै भोलिपल्ट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार सल्लाह गरेर सचिवालय बैठकको मिति निर्धारण गरेका हुन्।

आज बस्ने बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी गराउनुका साथै पार्टी र सरकारको काम कारवाहीको समिक्षा समेत हुने बुझिएको छ ।