दुर्घटनामा ६ जनाको मृत्यु


नेपाल समाचारपत्र, बाँके
पूर्व–पश्चिम महेन्द्रराजमार्गको बाँके खण्डमा शनिबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

राप्तीसोनारी गाउँपालिका–२, मुगुवा खोला नजिक हाइस (सानो माइक्रोबस) र ट्रक ठोक्किँदा हाइसमा रहेका ६ जनाको मृत्यु भएको हो । दाङबाट कोहलपुरतर्फ आइरहेको रा१ज १६६२ नम्बरको हाइस र कोहलपुरबाट दाङतर्फ गइरहेको लु१ख ७७२९ नम्बरको ट्रक ठोक्किएका थिए । दुर्घटनामा ४ जनाको घटनास्थल र २ जनाको उपचारका क्रममा मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दाङका ५ जना र १ जना सल्यानका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका इन्चार्ज प्रहरी निरीक्षक हिरेन्द्र रोकायका अनुसार, पश्चिम दाङकी ३० वर्षीया तुलसी रावत, दाङ तुलसीपुर नगरपालिका–८ की ८ वर्षकी वसन्ती चौधरी, तुलसीपुरकै ५० वर्षकी नारायणी श्रेष्ठ, गाडी चालक तुलसीपुरका शुभन चौधरी, शान्तिपुर–७ दाङकी ५१ वर्षीया मनकुमारी रावत र सल्यान शारदा नगरपालिका–५ का ३० वर्षका दोर्ण बुढाथोकीको मृत्यु भएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरु सबैको मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ । दाङका ईश्वरी ओली गम्भीर घाइते भएका छन् । घाइते अधिकांशको अवस्था सामान्य रहेको छ ।

तीव्र गतिमा रहेको हाइसले अर्को गाडीलाई ओभरट्याक गरेर अगाडि बढ्दा विपरीत दिशाबाट आएको ट्रकसँग ठोक्किएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रोकायले बताउनुभयो । ‘एउटालाई ओभरट्याक ग¥यो, उताबाट आएको अर्कोलाई ख्याल गरेन, तीव्र गतिमा भएका कारणले दुर्घटना भयो’ –प्रहरी निरीक्षक रोकायले भन्नुभयो ।

घाइते टेकबहादुर सुनारले हाइस तीव्र गतिमा रहेको र एउटा ट्रकलाई उछिनेर अगाडि बढ्दा ट्रकसँग ठोक्किएको जानकारी दिनुभयो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । बिहान ९ बजे दुर्घटना हुनेबित्तिकै नेपालगन्ज र कोहलपुरबाट प्रहरी टोली गएर घाइतेहरुको उद्धार गरेका थिए ।

दुर्घटनापछि घटनास्थलमै मृत्यु भएका चार जनामध्ये तीन जनाको शव बसेकै ठाउँमा थियो । एक जना मात्रै तल खसेका थिए । चालक आफ्नै सिटमा च्यापिएका थिए । ‘हाइस अति नै तीव्र गतिमा आएको देखिन्छ’, घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय, कोहलपुरका मुद्दाफाँटका प्रहरी नायव निरीक्षक सुरेन्द्र पन्तले भन्नुभयो– ‘चालक ठाउँको ठाउँमा च्यापिएका थिए । घटनास्थलमै मृत्यु भएका चारमध्ये तीन जना आफ्नै सिटमा थिए । हाइसले ब्रेक हानेको देखिँदैन ।’