‘पैसाले न्याय प्रभावित हुँदैन’


नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले पैसाले न्याय प्रभावित हुँदैन भन्नुभएको छ । लमजुङ जिल्ला अदालतद्वारा कारागारमा आयोजित ‘न्यायिक संवाद’ कार्यक्रमका कैदीबन्दीको गुनासो सुन्ने पछि त्यस्तो धारणा व्यक्त गर्नु भएको हो । जिल्ला न्यायाधीशलाई एकाएक कारगार शाखा देख्दा कैदीबन्दीहरू आश्चर्य चकित भएका थिए ।

जिल्ला अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले न्यायिक संवादको औचित्यमा प्रकाश पारीसकेपछि कैदीबन्दीलाई परेको मर्का र जिज्ञासाका बारेमा सुझाव संकलन गरिएको थियो । लागू औषधमा कैद भोगिरहेका बमबहादुर भण्डारीले आफ्ना पिताको काजकृया चलिरहेको मुलुकी संहिताले काजकृयामा भाग लिन पाउने व्यवस्था गरेको सुनेको तर आफू जना नपाएको जिज्ञासा राखेका थिए ।

त्यसबारेमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा हामीले कारागारको सुरक्षा दिनेमात्र हो, अन्य काम कारागार व्यवस्था विभागबाट हुन्छ त्यो बारेमा आफूलाई जानकारी नभएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताउनु भयो ।

लागुऔषध मुद्धामा कैदी भुक्तान गर्ने क्रममा आफूले ४ वर्षको अवधि विताउँदासम्म पनि कारागार मुक्त हुन नसकेको बमबहादुर बस्नेतको गुनासो थियो । त्यस्तै, दिप्ती गुरुङले जिल्ला अदालतको भन्दा पुनरावेदन अदालतबाट कम कैद तोकी आएको तर आफ्नो मुद्दा सर्वोच्च गएनगएको पत्तो पाउन नसकेको गुनासो गरिन् ।

कैदीबन्दीबाट गुनासो सुनिसकेपछि जिल्ला न्यायाधीश आचार्यले न्यायलाई सरलीकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको हो, सुझावहरू तर्कसंगत छन् । तिनको समाधानका लागि जिल्ला र नीतिगत निर्णयका विषय पनि उठे आफूले समाधानको लागि सक्दो प्रयास गर्ने जिल्ला न्यायाधीश आचार्यले बताउनु भयो । उहाँले पैसाको चलखेलबाट न्याय प्रभावित हुँदैन त्यस्ता कार्यका पछि नलाग्नु होला भन्ने सुझाव दिनुभयो ।