नेविसंघ विवादले महाधिवेशन हुनेमा शंका


नेपाल समाचारपत्र, काठमाडौं
नेपाली काँग्रेसको शक्तिसाली भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बा¥हौं महाधिवेशन अनिश्चित र जटिल बन्दै गएको छ । नेपाली काँग्रेस पार्टीले नेविसंघ केन्द्रीय समितिको विधान पारित नगरिदिदा नेविसंघको अधिवेशन विवाद पार्टी शिर्ष तहमा पुगेको हो ।

नेविसंघको महाधिवेशन सम्पन्न गर्ने पार्टी को निर्देशन समितिले विवाद टुङ्गाउन नसक्दा नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकसम्म प्रभावित भएको छ । नेविसंघको विधान पारित गर्नको लागि भनि असोज १९ गते बैठक तोकिएको थियो ।

पार्टी महामन्त्री शशांक कोइरालाले नेविसंघको विवादको विचमा बैठक बस्न नहुने भन्दै महामन्त्रीको आग्रहमा पार्टी बैठक सारिएको छ । नेविसंघको विधानको बारेमा निर्देशन समिति संयोजक प्रकाश शरण महतको समितिमा विवाद टुङ्गाएर मात्र केन्द्रीय समितिमा पेश गर्न भनि निर्देशन दिएर बैठक स्थगीत भएको छ ।

नेविसंघ केन्द्रीय समितिले कार्तिक १६,१७ र १८ गते गर्ने कार्यतालिका प्रकाशन गरेको थियो । तर त्यो अनिश्चित भएको छ । महाधिवेशनको लागि नेविसंघ केन्द्रीय समितिले सर्वसहमतीमा विधान पारित गरि जिल्ला र क्याम्पस अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय समेत गरेको थियो ।

तर अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगर्नका लागि विजय गच्छदार समुहलाई विधान विपरित र छलफल र सहमति विपरित पन्ध्र जनालाई केन्द्रीय समितिमा मनोनित गरि महाधिवेशनको वातावरण विगारे । महाधिवेशन विवाद टुङ्गाउन र विधान पारित गराउन छाडेर अध्यक्ष महर दक्षिण कोरिया भ्रमणमा निस्किएका छन् ।

पछिल्लो समय पार्टीका महत्वपुर्ण भ्रातृ संगठनमा देउवा पक्षले एक पछि अर्को हार्दै गएका कारण नेविसंघ महाधिवेशन नगराउन देउवा पक्ष लागिपरेको केन्द्रीय सदस्य मेतिलाल भण्डारीले जानकारी दिनुभयो । नेविसंघमा बत्तिस बर्षे उमेर हदका कारण महाधिवेशन नहुने होकि भन्ने चिन्ता पनि ब्यापक छ ।

पौडेल र सिटौला पक्षिय विद्यार्थी नेताहरु उमेर लगाएर होस वा नलगाएर होस महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा रहेको भण्डारीले बताउनुभयो । उमेरलाई देखाएर महाधिवेशन भाड्न नपाईने उहाको भनाई छ । पार्टीको विधान संशोधन, महासमिति बैठक देखि भ्रातृ संगठनको महाधिवेशन गर्ने सम्मको साझा धारणा निर्माण गर्ने कसरतमा जुटेको छ । देउवा पक्ष भने पार्टी कब्जा गर्ने रणनीतिमा रहेको उहाको आरोप थियो ।

नेविसंघ केन्द्रीय समितिको मनोनयनमा दलितहरुको प्रतिनिधित्व नभएको भन्दै दलित विद्यार्थी नेताहरुले नेविसंघका मुख्यालयमा अनिश्चित कालिन कार्यालयमा तालाबन्दि गरेका छन् । तालाबन्दि गर्नेमा नेविसंघ केन्द्रीय सदस्यहरु पवन नेपाली, ललिता सुनार, पम्फा गान्धारी, रेखा परियार लगायत छन् । नेविसंघको आगामी अधिवेशनमा अध्यक्षका पदको लागि देउवा पक्षबाट सरोज थापा, राजीव ढुंगाना, शुभराम बस्नेत छन् ।

त्यस्तै पौडेल पक्षबाट दीपक भट्टराई, मोतिलाल भण्डारी र हिमाल श्रेष्ठ रहेकाछन् । त्यसै गरि सिटौला पक्षबाट कुन्दनराज काफ्ले र युवराज पाण्डे मुख्य दावेदार हुन् ।