नेकपाभित्र विवाद चुलिँदै

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीभित्र पार्टी एकताको प्रक्रियालाई लिएर शुरू भएको विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वार्ता शुरू भएको छ।
पार्टी एकताको प्रक्रियामा प्रदेशसभाको नेतृत्व चयनको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि नेकपाभित्र विवाद चुलिँदै आएको छ। पार्टी एकीकरणमा भन्दा पनि शीर्ष नेताहरू पछिल्लो समय विदेश भ्रमणमा केन्द्रित भएपछि कार्यकर्तामा व्यापक रूपमा निराशा छाएको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलमा दशैंअगाडि नै जनसंगठनसहित सबै तहका कमिटीको एकता टुंगो लगाउने निष्कर्ष निकालिएको छ। दुवै अध्यक्षले पार्टी एकता प्रक्रियामा ढिलाइ भएको निष्कर्ष निकाल्दै कार्यकर्तामा निराशा बढ्न नदिन दशैंअगाडि नै एकता प्रक्रिया टुंगो लगाउन असोज २१ गते पार्टी सचिवालयको बैठक बोलाउने निर्णय भएको छ। प्रधानमन्त्री रहनुभएका अध्यक्ष ओली अमेरिकाबाट फर्किएपछि एकतालगायत मुलुकको अवस्थाबारे अध्यक्ष दाहालसँग समेत छलफल गर्नुभएको थियो।
दुवै अध्यक्ष यसबीचमा बाहिर रहेकाले सतहमा आएका पछिल्ला विवादका विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो।
– ओली–प्रचण्डबीच वार्ता
– नेपाल र खनाललाई मनाउने विधि खोजिँदै 
– शीर्ष नेता विदेश भ्रमणमा
– कार्यकर्तामा निराशा 
‘दुई अध्यक्षबीच दशैंअगाडि नै पार्टी एकताको टुंगो लगाउने गरी छलफल अगाडि बढाउने सहमति भएको छ र यसबारे सचिवालयको बैठकमा थप छलफल हुनेछ’ –उहाँले भन्नुभयो।
त्यसै गरी दुई अध्यक्षसँग असन्तुष्ट बन्नुभएका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेतासँग अनौपचारिक छलफल गर्नेसमेत निर्णय भएको छ। पार्टीका दुई अध्यक्षले पार्टी एकता प्रक्रियामा एकलौटी ढंगले निर्णय गरेको भन्दै नेपालले पछिल्लो समय पार्टी र सरकारको कडारूपमा आलोचना गर्दै आउनुभएको छ।
नेता नेपालले असोज १२ गते स्थायी समितिका सदस्य भेला पार्दै पार्टी सचिवालयले गरेको प्रदेश कमिटीको नेतृत्व सिफारिस मान्य नहुने चेतावनी दिनुभएको थियो। दुई दिन अध्यक्षद्वयले आन्तरिक गृहकार्य गर्ने र २१ गते सचिवालयको बैठक बसेर आवश्यक निर्णय गर्ने निर्णय पनि भएको बताइएको छ। पार्टी एकता, सरकार सञ्चालनको विषयलाई लिएर पछिल्लो समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रबाट भन्दा पनि आफ्नै पार्टीभित्रबाट सरकारको आलोचना हुन क्रम बढेको छ।
पार्टी एकता भएको चार महिनाको अवधिमा पार्टीको केन्द्रीय ४ सय ४१ जना, प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवबाहेक अन्य जनसंगठनको टुंगो लाग्न सकेको छैन। पार्टी एकताका प्रक्रियामा गुटगत स्वार्थ झागिँदै गएपछि नेकपाभित्र एकता प्रक्रिया जटिल बन्दै गएको छ। प्रदेशको नेतृत्व चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटीरूपमा निर्णय गरेको भन्दै पार्टीका वरिष्ठ नेताद्वय नेपाल, खनाल अर्का नेता नारायणकाजी श्रेष्ठसमेत रुष्ट बन्दै आएका छन्। तीन महिनाभित्र पार्टीको सांगठानिक एकता प्रक्रिया टुंगो लगाउने प्रतिबद्धता गरे पनि चार महिना बितिसक्दा समेत पार्टी एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन।