काठमाडौं, (नेस)
विसं २०७५ सालको बडादशैं नजिकिँदै गर्दा धेरैजसो कार्यालयका कर्मचारीको हात र खातामा पेस्कीसहितको तलब परिसकेको छ। तर शिक्षा विकास तथा मानव स्रोत केन्द्रका कर्मचारी भने ३ महिनादेखि तलब नपाउँदा रिसले चुर बनेका छन्।
केन्द्रका २ सय ५० तथा एकाइ र अन्य निकायका १ सय १ गरी ४ सय ५१ कर्मचारीले तलब पाएका छैनन्। तलब नपाउनेमा महानिर्देशक र उपमहानिर्देशकसमेत रहेका छन्। केन्द्रले तलब खुवाउन कुनै पहल नै नगरेको कर्मचारीको आरोप छ। उनीहरूले केन्द्रको यस्तो पाराले आफूहरूको दशैं नै खल्लो हुने गुनासो गरेका छन्।
स्मरणीय छ, कर्मचारीले तलब नपाएको समाचार लगातार छाप्न थालेपछि शिक्षा मन्त्रालयले करिब दुई साताअघि मात्रै तलब दिएको थियो। अहिले मन्त्रालयका कर्मचारी मौन छन्। उनीहरू आफ्नो विषयमा केही नबोलेको केन्द्रका कर्मचारीको गुनासो छ।
केन्द्रका महानिर्देशक बाबुराम पौडेलले पोस्टिङको समस्याले गर्दा तलब खुवाउन ढिलो भएको दाबी गर्दै भन्नुभयो– ‘कर्मचारी पोस्टिङ भएको कार्यालयबाटै तलब खुवाउने व्यवस्था गर्न लागेका छौं।
मन्त्रालयले इकाईका लागि अर्थ र गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको उहाँको भनाइ छ। ‘शिक्षाको इकाइ प्रमुख जिल्ला अधिकारीको मातहतमा छ। अब समस्या भनेको केन्द्रको हो, मन्त्रालयसँग छलफल गरी दशैंअगावै समस्या समाधान गर्ने तयारीमा छौं’ –पौडेलले भन्नुभयो।
मन्त्रालय स्रोतले भने बजेट अपुग भएमा दोस्रो चौमासिकमा व्यवस्थापन गर्ने गरी समस्या समाधान गर्न केन्द्रलाई निर्देशन दिइसकिएको बताएको छ। केन्द्रका उपमहानिर्देशक टेकनारायण पाण्डेले केही दिनमै तलब निकासा हुने दाबी गर्नुभयो।
केन्द्रका एक उपसचिवले यसपटक पनि आश्वासन मात्र आउन सक्ने शंका गर्दै भने– ‘तलब खुवाउँछौं भनेको दुई महिना बितिसक्यो। दशैंको परेवा तिथिसम्ममा पेश्कीसहित तलब दिने प्रचलन थियो। दशैं लागिसक्यो, अति भो। किनमेलको चटारो छ, तलब आउने नआउने अत्तोपत्तो छैन, लेख्दिन पर्यो।’
तर विभिन्न शाखाबाट आएका केही उपसचिव एकै ठाउँमा थुप्रिएको र ती उपसचिवलाई कुनै जिम्मेवारी नदिएकाले तलब खुवाउन समस्या परेको केन्द्रको धारणा छ।











प्रतिक्रिया