स्वस्थ मासु खुवाउन योजना बनाउँदै कामपा

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भएपछि महानगरवासीलाई सचेत गराउन थालेको छ। कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले खसीबोकालगायत पशुपक्षीबाट हुन सक्ने खतराबाट जोगाउन कामपाले यो वर्ष रोगी खसीबोका जफत गर्ने बताउनुभयो।
‘हामी दशैंमा निरोगी पशुपक्षी मात्र बिक्री गर्न दिन्छांै, त्यसैले जनतालाई यो अपिल गरेका छौं कि मानिसमा हुने खतरनाक रोगबाट जोगिन स्वच्छ पशुपक्षी प्रयोग गरौं’ –उहाँको भनाइ थियो।
– एक दर्जन पशु चिकित्सक खटाइने
– ६० हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरिने
दशैंको मौका छोपेर राजधानीको चौपाया बिक्री केन्द्रमा बिरामी भएका खसीबोका बिक्री गर्ने प्रचलन बढेको बताउँदै उहाँले भन्नुभयो– ‘स्वच्छ मासु प्रगोग गर्न हामीले नाका नाकामा परीक्षण गर्ने भएका छौं।’ चेकजाँचका क्रममा बिरामी भएको खसीबोका बिक्री गरेको जानकारी भए विक्रेतालाई समेत कारबाही गर्ने उहाँको भनाइ थियो। खसीबोकालगायतका चौपायाको स्वास्थ्य परीक्षण गर्न कामपाले करिब एक दर्जन पशु चिकित्सक परिचालन गर्ने भएको छ।
कामपाले घटस्थापनादेखि राजधानीको चार स्थानमा खसीबोका परीक्षण गर्ने भएको छ। पशु चिकित्सक, कामपा भेटेनरी शाखा, जिल्ला प्रशासन कार्यालयलगायतका समूहबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। राजधानीको कलंकी, कोटेश्वर, बागबजार र बिजुली बजारस्थित बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ। ‘अहिले चार स्थान पहिचान गरेका छांै, आवश्यक भए अन्य स्थानमा समेत परीक्षण केन्द्र राख्ने तयारी गरेका छौं’ –कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भन्नुभयो।
दशैंमा खसीबोका बिक्री गर्न खसीबोका व्यवस्थापन समिति, व्यापारी र सरोकारवालासँग छलफल गरिसकेको कार्कीले बताउनुभयो। गत वर्ष कामपाले चार स्थानमा करिब ५० हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरेको थियो। यो वर्ष करिब ६० हजार खसीबोकाको स्वाथ्य परीक्षण गर्ने तयारी भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो।
प्रवक्ता कार्कीले यो वर्ष चौपाया वध गर्ने स्थानको समेत अनुगमन गर्ने जानकारी दिनुभयो। दशैंअगावै वधशाला अनुगमन गर्ने प्रवक्ता कार्कीको भनाइ थियो। ‘खसीबोका मात्रै होइन वधशाला, त्यहाँको अवस्थाका बारेमा समेत अनुगमन गर्नेछांै’ –उहाँले भन्नुभयो।
त्यसै गरी यो वर्ष दशैंमा राजधानीलाई फोहोर हुन नदिन कामपाले विभिन्न मठ मन्दिरमा कन्टेनरको व्यवस्था गर्ने भएको छ।
दूषित मासु खाँदा डायरिया (झाडापखाला), इकोलाई , क्षयरोग, बु्रसेलासिस, एन्थ्रास, जुका पर्ने, आउँ रगतमासी, चर्मरोग, छारेरोग, बान्ता आउने, पातलो दिसा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने आदि हुन्छ। यसबाट ब्रेनसिस्ट, दमलगायतका रोग लाग्न सक्छ। त्यसैले दशैंमा यस्ता रोग लाग्नबाट जोगिन निरोगी खसीबोका, हाँस कुखुरा, भेंडा, च्याङ्ग्रा, राँगाको मासु खानुपर्छ।
विचार नपुर्याई मासु खाँदा यस्ता किसिमका रोग लाग्ने बढी सम्भावना रहने पशु चिकित्सकको भनाइ छ। पशु चिकित्सक डा. अञ्जिरमान सिंह डंगोलले मासु किन्दादेखि पकाउँदासम्म ध्यान दिनुपर्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘मासु खरिद गर्दा रोग नलागेको खसीबोका छान्नुस्, पकाउँदा भान्छामा ध्यान दिनुस्।’ उहाँले दशैंमा राजधानीका बिक्री गर्न ल्याइने केही खसीबोका बिरामी हुने गरेको बताउनुभयो। तत्काल बिरामी भएकालाई २४ घण्टा उपचार गर्न सम्भव भए पनि दीर्घ रोग लागेका चौपायालाई उपचार गरेर मासु खान सम्भव नभएको उहाँको भनाइ छ।
दशैंमा धेरै मासुको प्रयोग हुने भएकाले किनेर ल्याएको मासु सय डिग्री तापक्रममा पकाएर खानुपर्ने उहाँको धारणा छ। ताजा मासु तत्काल पकाएर खाँदा कुनै प्रकारको रोग नलाग्ने तर १÷२ घण्टा खुला राखेर पकाउँदा किटाणु छिरेर असर पर्ने सम्भावना रहन्छ। कि त तत्काल होइन भने ४–५ घण्टासम्म फ्रिजमा राखेर पकाएर खाँदा शरीरमा कुनै असर नपर्ने उहाँको भनाइ छ।