प्रदेश १ मा १८ वटा ऐन कार्यान्वयनमा, एकै दिन तीनवटा विद्येयक पारित



सरोज यादव, विराटनगर ।
प्रदेश नम्बर १ मा डेढ दर्जन ऐन निर्माण भएका छन । प्रदेशसभाबाट पारित २० वटा विधेयक मध्ये १८ वटामा लालमोहर लागेपछि तीनले ऐनको रुप लिएका हुन । प्रदेश प्रमुखबाट लालमोहर लागेका यी ऐन अब कार्यान्वयमा आएका छन ।

 

प्रदेश प्रमुख प्रा.डा गोविन्दवहादुर तुम्बाहाङले प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई आएका १८ वटा विधेयक प्रमाणीकरण गरेका छन । उनले मंगलबार मात्र एकै दिन ३ वटा विद्येयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुँरागाईले जानकारी दिए । गुँरागाईका अनुसार प्रदेशसभा बैठकबाट पारित विपत व्यवस्थापन समवन्धमा व्यवस्था गर्न बनेको विद्येयक, सामाजिक विकास विद्येयक र प्रशासकीय कार्य विद्यि (नियमित गर्ने) समवन्धमा बनेको विद्येयक मंगलबार प्रमाणीकरण भएको हो ।

 

प्रदेश सरकारका सम्बन्धित मन्त्रालयले पेश गरेको विधेयकलाई प्रदेशसभाले पारित गरेपछि त्यसलाई कानुनको रुप दिन प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।जसअनुसार संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणीकरणका लागि पेश भएका विधेयकहरुलाई लालमोहर लगाएका हुन ।

 

विद्येयक प्रमाणीकरण पछिआवश्यक कानुन कार्यान्वयका लागि नियमन गर्न प्रदेश सरकारलाई सहज हुनेछ । प्रदेश सभा सचिवालयका कानुन अधिकृत मञ्जु खड्काका अनुसार प्रदेशसभाले अहिलेसम्म २० वटा विधेयक पारित गरेको छ । दुईवटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्