हेटौंडा,(नेस) । प्रदेश सरकारले निर्माणका लागि सर्भे सुरु गरिसकेको सडकको मुख्यमन्त्रीले अवलोकन गर्नुभएको छ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–काठमाडांै जोड्ने बैकल्पिक मार्ग सतुंगल–मातातीर्थ–देउराली–कुलेखानी सडक अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले सडक स्तरीकरणका लागि काम सुरु गर्न अनुगमन गर्नुभएको हो ।
फाखेलको महालक्ष्मीदेखि काठमाडौं कलंकी चोकसम्म उक्त सडकको दुरी २१ किलोमिटर छ । मकवानपुर र काठमाडौंको सिमानामा रहेको देउरालीबाट मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।
हेटौंडा–फाखेल–काठमाडांै सडक खण्डको फाखेलको महालक्ष्मी,चखेल देउराली हुँदै सडक काठमाडांै जोडिएको छ । हेटौंडा, प्रदेश राजधानी भएसँगै सडक सञ्जाल विस्तार गर्न उक्त सडकको स्तरीकरण गर्न लागिएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।
उक्त सडक भएको स्थानमा तरकारी उत्पादन हुने भएकोले बजारीकरणमा पनि थप सजिलो हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । उक्त सडक विस्तार भए पर्यटकलाई पनि आकर्षण गर्न सकिने उहाँले बताउनुभयो ।
हाल एकतर्फीरुपमा आवतजावत हुने कच्ची सडकलाई कालोपत्र गरी २ लेनको बनाइने मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।
प्रदेश सरकारले सडकका लागि हाल ४ करोड विनियोजन गरेको छ भने स्तरीकरण सुरु भएसँगै बजेट रकम पनि थप हुने बताइएको छ ।











प्रतिक्रिया