नेपाल समाचारपत्र, काठमाडौं । पुस्तक पढ्न नसक्दा समस्या भएको भन्दै दृष्टिविहीनहरुले ‘नदेखे नि पढ्न सकिने’ पुस्तकको माग गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा डेजी नेपाल मञ्चका संयोजक डा. बिरेन्द्रराज पोखरेलले दृष्टिविहीनलाई अध्ययनको समस्या हुँदाहुँदै सरकार र अन्य सरोकारवाला निकायले ध्यान दिन नसकेको आरोप लगाउनुभयो । ‘हामी पढ्न खोज्छौं तर पनि त्यो सुविधा पाएका छैनौं, कसैले हामीप्रति दयाको भावले हेर्ने होइन अधिकार दिनुपर्छ’ पोखरेलले भन्नुभयो ‘ सरकारले दृष्टिविहीनलाई पढ्नका लागि कुनै व्यवस्था गरेको छैन, सधैं आश्वासनमात्र बाँड्ने गरिएको छ ।’
‘नदेखे नि पढौं क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी’ पोखरा र काठमाडौंमा हालै सम्पन्न भएको छ । ती ठाउँमा १ सय २० दृष्टिविहीन व्यक्तिले बुकशेयरको सदस्यता प्राप्त गरी अनलाइन इ–पुस्तकहरु पढ्ने अवसर पाएका थिए ।
दृष्टिविहीनको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले विभिन्न माध्यमबाट आफ्नो समस्या सुनाउँदै आएका छन् । मञ्चले माराकश सन्धीको अनुमोदनको लागि नेपाल सरकारसँग पहल गर्न माग गरेको छ । सन्धी अनुमोदन नहुँदा कसैले पनि चाहिएको बेलामा अरु पुस्तक अनुबाद गरेर छाप्न वा अरु तरिकाले प्रकाशन गर्न पाइदैन ।
शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत बिकाश केन्द्रका शाखा अधिकृत नारद धमलाले सरकारले दृष्टिविहीनका लागि अध्ययनमा सहयोग हुने गरी सुन्ने पुस्तक प्रकाशन गर्ने विषयलाई चासोको रुपमा लिएको बताउनुभयो । धमलाले सुन्ने पूस्तक उपलव्ध भए बीचैमा पढाई छोडेर हिँड्नुपर्ने वाध्यताको समेत अन्त्य हुने बताउनुभयो ।











प्रतिक्रिया