नेपाल समाचारपत्र, काठमाडौं ।
रुपिज इन्टरनेशनल स्कुलले यसपटकको आलोक अन्तरस्कुल म्युजिक प्रतियोगिताको उपाधि जितेको छ ।
आलोक विद्याश्रममा शुक्रबार आयोजित प्रतियोगितामा रुपिजको तर्फबाट सहभागी विद्यार्थीहरुले प्रस्तुत गरेको गायनसहितको म्युजिकले निर्णायकहरुको मन जितेको थियो । चर्चित गायक धिरज राई र सुशिला आर्ट एकेडेमीकी संचालक युलिया कोइरालाले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।
काठमाण्डौ उपत्यकाका दश स्कुल सहभागी रहेको प्रतियोगितामा दोस्रो स्थान एल आर आई स्कुलले प्राप्त गरेको छ । आयोजक आलोक विद्याश्रमले तेश्रो स्थान जितेको छ । गाना गाउने शैली, प्रस्तुत गर्ने टिमको क्षमता र प्रभावकारिता लगायतका विषयका आधारमा प्रतियोगिताम टिमलाई विजेता घोषणा गरिएको थियो ।
आलोक विद्याश्रमले प्रस्तुत गरेको गीतमार्फत दिइएको सन्देशको निर्णायकहरुले थप प्रसंशा गरेका थिए । कार्यक्रममा गायक धिरज राइले आफ्नो जीवनकालका चर्चित गीतहरु पनि प्रस्तुत गरेका थिए । राइले आफनो जीवनको पहिलो गीत रेकर्ड गराउनका लागि जुत्ता बेचेको प्रसंग विद्यार्थीहरुमाझ सुनाएका थिए ।
आयोजक आलोक विद्याश्रमकी प्रिन्सिपल बनिता मित्तल अग्रवालले यस्ताखाले प्रतियोगिताले विद्यार्थीको क्षमता वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आलोक विद्याश्रमले गीत संगीतलगायत विभिन्न सांस्कृतिक विषयमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।











प्रतिक्रिया