विश्व पर्यटन दिवसमा व्यापार संघद्वारा रक्तदान

0
Shares

सीताराम चौधरी, चन्द्रौटा, कपिलवस्त ।

कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका छन् ।

विश्व पर्यटन दिवसको अवसर पारेर व्यापार संघ कपिलवस्तुले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ६५ वर्षे मक्सुद खाँले पहिलो पटक रक्तदान गर्नुभयो । आफूले दिएको रगतले कुनै एक जनाको ज्यान जोगाउन सकिन्छ भन्ने सोंचले रगत दान गरेको उहाँले बताउनुभयो । २० वर्षअघि दुर्घटनामा पर्दा कसैले दान गरेको रगतले आफू बाँचेको स्मरण गर्दै गुनको बदला गुन चुकाउन रक्तदान गरेको उहाँले सुनाउनुभयो । यस्तै कार्यक्रममा ५ जनाले एच्ए रगत दान गरेका थिए । सेतो रक्तकोष ९ध्द्यऋ० को लागि एच्ए रगत संकलन गरेको रक्त संचार केन्द्र बुटवलका वारिस खानले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले व्यापार संघ जस्ता संघसंस्थाहरुले रगत संकलन गरी रेडक्रसलाई दिंदा विरामीले सहज रुपमा रगत पाउन सकेको बताउनुभयो । रगत एक अमूल्य वस्तु हो, सबैभन्दा ठूलो दान नै रक्तदान भएकाले कार्यक्रमको आयोजना गरी व्यापार संघले ठूलो पुण्य कमाएको प्रदेशसभा सदस्य के.सी.ले बताउनुभयो ।

कार्यक्रमकै अवसरमा प्रदेशसभा सदस्य के.सी.ले पर्यटन क्षेत्रको विकास विना देश समृद्धिको बाटोमा अगाडि नबढ्ने उद्घोष गर्नुभयो । कपिलवस्तुको पश्चिमी क्षेत्र पर्यटनको दृष्टिकोणले अत्यन्त वैभवशाली क्षेत्र भएको औल्याउँदै उहाँले यसको उत्खनन्का लागि आफूले कदम चालेको उद्घोष गर्नुभयो ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले विरामीको अन्तिम जीवन सासलाई बचाउन गरिने पूण्य कार्य नै रक्तदान भएको बताउनुभयो । उहाँले भन्नुभयो – “रक्तदान जस्ता पूण्य कार्यले विभेदलाई अन्त्य गर्छ । हामीले धनी गरीब, जातपात, सत्रुमित्रु, धर्म आदिलाई लिएर विभेद गर्छौं तर जब मान्छे मृत्युको सैयामा छटपटाइरहेको हुन्छ, त्यतिबेला मानिसले आफ्नो सबै स्वार्थलाई त्यागेर मानवताको नाता मात्र हेर्ने गर्छ ।” त्यसैले आपसी एकता, बन्धुत्व, सद्भावका लागि रक्तदान कार्यक्रमको ठूलो भूमिका रहेको नगरप्रमुख अधिकारीले जिकिर गर्नुभयो ।

यस्तै राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा लगायतले रक्तदान नै जीवनदान भएकाले हामी सबैले नियमित रक्तदान गर्ने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो । यहाँ रहेका विभिन्न संघ संस्थाले आलोपालो गर्दै रक्तदान जस्तो पुण्य कार्यक्रम गरेमा कुनै पनि विरामीले अकालमै ज्यान गुमाउनु नपर्ने जिकिर गरे ।

आयोजक संस्था व्यापार संघका अध्यक्ष महादेव पोखरेलले जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै मानव हितमा थप सहयोग होस् भनी विश्व पर्यटन दिवसको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले रक्तदान गरी ठूलो पुण्य कमाउनु हुने र कार्यक्रममा सहयोग पु¥याउने सबैलाई धन्यबाद समेत ज्ञापन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा व्यापार संघका वरिष्ठ उपाध्यक्ष अर्जुन सापकोटाले स्वागत र महासचिव जगत पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा बुटवल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।