विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुन्द्रमा पसेपछि…


काठमाडौं, प्रशान्त महासागरको किनारमा रहेको एक विमानस्थलमा अवतरण गर्ने क्रममा शुक्रबार एउटा विमान गम्भीर दुर्घटनामा परेको छ। ४७ यात्रु बोकेको पपुआ न्यू गिनीको एयर न्यूगिनीको बोइङ ७३७–८०० विमान मोइकोनेसियास्थित चुक विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुन्द्रमा परेको बीबीसीले जनाएको छ ।

विमान बिहान करिब ९ः३० बजे अवतरण गर्ने तालिका रहेको र अवतरणका लागि आइपुगेको विमान धावनमार्गमा नरोकिई अघि बढेको थियो। सिधा अगाडि समुन्द्र रहेका कारण विमान समुन्द्रभित्र प्रवेश गरेको बताइएको छ ।

धावनमार्गमा १६० मिटर दौडिएपछि विमान अगाडिको समुन्द्रमा पुगेको थियो। जहाजमा ३६ यात्रु र ११ चालक दल सदस्य थिए।

विमानस्थलका अनुसार विमानमा रहेका सबै यात्रु सकुशल रहेको विभिन्न अन्तरराष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।