विमल बिष्ट, डोटी ।
डोटीमा युवाहरु मिलेर बृद्धाश्रम खोलेका छन् । गरीब, असहाय, साहाराविहीन बृद्धबृद्धाहरुलाई बुढेसकालको साहारा दिई मानवीय सेवा गर्ने उद्धेश्यले डोटीका विभिन्न ठाउँका युवाहरु मिलेर पूज्य धर्मान्तक बृद्धाश्रम खोलेका हुन् ।
उक्त बृद्धाश्रमको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै बृद्धाश्रम उ उद्घाटन समारोहका प्रमुख अतिथि मलासीले जिल्लामा बृद्धाश्रम खोल्ने युवाहरुलाई धन्यवाद दिँदै विशुद्ध मानवीय सेवाभावले बृद्धाश्रम सञ्चालन भएमा दिपायल सिलगढी नगरपालिकाको तर्फबाट गर्न सकिने र सहयोगका लागि नगरपालिका तत्वर रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘हामी सहयोग गर्न तयार छौ तर विशुद्ध मानवीय सेवाभावले काम हुनु प¥यो ।’ बृद्धाश्रमको व्यवस्थापन र दीगोपनाका लागि जिल्लाका सबै स्थानीय तहहरुको दायित्व रहेको बताउँदै यसमा सबैले लाग्नुपर्ने उहाँले बताउनु भयो ।
विभिन्न कारणले बृद्धबृद्धाहरुले पाउनु पर्ने मान सम्मान, माया, ममता, सद्भावको अभाव खड्किएको अवस्थामा नेपाल लगाएत विश्वभर बृद्धाश्रम खोल्ने सँस्थाहरु बढ्दो क्रममा रहेको र खोल्न आवश्यकता पनि खड्किरहेको डोटीका प्रमूख जिल्ला अधिकारी यादव सुवेदीले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘जिल्लामा बृद्धाश्रमको शुभारम्भ हुनु स्वागतयोग्य एवं खुशीको कुरा भएको भन्दै बृद्धाश्रमले यस क्षेत्रमा उदाहरणीय काम गरी कोशे ढुङ्गा सावित हुनसकोस ।’
पछिल्लो समयमा विभिन्न ठाउँमा बुढेसकालमा आमाबाबुलाई बृद्धाश्रम पठाउने रोग सर्दै आएको भन्दै नेकपा डोटीका नेता सहदेव खाँतीले दुःख व्यक्त गरे । आफैले जन्म दिएको सन्तानबाट बृद्धावस्थामा साहारा नपाउनु दुःखद भएको उनले बताए । उनले भने–‘अहिले फेसबुक आदिइत्यादीका माध्यमबाट आमाबाबुका अनुहार हेर्ने दिन आए । जुन दुःखद हो ।’
तर गरीब, असहाय, साहाराविहीन बुद्धबृद्धाहरुका लागि बृद्धाश्रम खोलेर सेवा गर्नु सह्रानीय कार्य भएको नेता खाँतीले बताए । डोटीमा बृद्धाश्रम खोलिनु स्वागतयोग्य भएको र आफ्नो पार्टीको तर्फबाट गर्न सकिने सहयोगका लागि आफुहरु तयार रहेको संघीय समाजवादी फोरम नेपालका डोटी अध्यक्ष श्रीचन्द्र श्रेष्ठले बताए ।
घरमा अपमानजनक व्यवहार, बृद्धबृद्धाको आफ्नै चाहना, आधुनिकीकरण, सबै मान्छे शहरतिर पस्ने प्रवृति, सन्तान नहुनु लगाएका कारणले बृद्धबृद्धाहरु बृद्धाश्रममा बस्ने गरेको र उनिहरुको सेवाका लागि बृद्धाश्रम खोलिनु प्रशंसनीय काम रहेको डोटीका शिक्षा विकास तथा समन्वय इकाई प्रमूख अनन्तकुमार पौड्यालले बताए ।
जिल्लामा धार्मिक आध्यात्मिक रुपमा क्रियाशील ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय सिलगढीका सञ्चालिका ‘पार्वती’ ले बृद्धाश्रममा राखिने बृद्धबृद्धाहरुका लागि आवश्यक कक्षा सञ्चालन र अन्य हुन सक्ने सहयोगका लागि आफुहरु तयार रहेको बताइन् । बृद्धाश्रमको उद्घाटन समारोहमा बोल्दै पूज्य धर्मान्तक बृद्धाश्रम डोटीका अध्यक्ष दिनेशबहादुर रोकायाले आफुले सानै उमेरमा आफ्ना बुबाबाट विछोडिएको सम्झनामा बृद्धाश्रम स्थापना गरी अगाडी बढेको बताए ।
उनले भावुक हुँदै भने–‘म ६ वर्षको छँदा वि.सं. २०५७ सालतिर मेरो बुबा कामको लागि भारततिर जानुभयो, उहाँको हालसम्म पत्तो छैन, मैले न त बुबाको माया पाउन सके, न त मैले उहाँको सेवा गर्न पाएँ, त्यसैले मनमा बृद्धाश्रमको कल्पना आयो र स्थापना गर्न लागें, यसमा मेरो टीम छ, सबै साथिभाईहरु जुटेका छौं ।’
एउटा शिशुको रुपमा जन्म लिएको बृद्धाश्रमलाई पूर्ण रुपमा हुर्काउन स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, विभिन्न संघसँस्था, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार, समाजसेवी, विभिन्न पेशा व्यवसायी सबैसँग पूज्य धर्मान्तक बृद्धाश्रमका उपाध्यक्ष गणेश बमले आवश्यक सहयोगको अपेक्षा गरे ।
बृद्धाश्रम स्थापना मात्रै नभएर यसको प्रभावकारी व्यवस्थापन र दीगोपनाका लागि सबैले सहयोग गर्नुपर्ने कार्यक्रममा सहभागि सरोकारवालाहरुले जोड दिएका छन् ।











प्रतिक्रिया