शिक्षक सेवा आयोगको परिक्षाका कारण डोटीमा पढाइ प्रभावित

0
Shares

विमल बिष्ट, डोटी ।

यहि असोज १३ गते शनिबार हुने शिक्षक सेवा आयोगको परीक्षाका कारण डोटी जिल्लाका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भइरहेको छ ।

परिक्षामा सहभागि हुन जिल्लाक अधिकांश विद्यालयका धेरैजसो शिक्षकहरु परीक्षा दिन गएकाले पठनपाठन अवरुद्ध भइरहेको जोरायल गाउपालिका १ का स्थानिय पबित्रा खत्रीले बताउनु भयो । उहाँले भन्नु भयो ‘अधिकांस शिक्षक परिक्षा दिन गइसके बिद्यालयमा पढाउने शिक्षक नहुँदा बन्द गर्नु पर्ने अवस्था आएको छ ।’

डोटी बाट परिक्षा दिने शिक्षकहरुको परिक्षा केन्द्र डडेल्धुरा जिल्ला तोकिएकाले परीक्षार्थी शिक्षक त्यसतर्फ लागेका छन् । यतिमात्र नभई केहि समय अघिदेखि परिक्षाको तयारीका लागि भन्दै केहि शिक्षकहरु विद्यालयमा नियमित उपस्थित नहुने र केहि बाहिर गएर समेत परिक्षाको तयारीमा लागेका कारण विद्यार्थीहरुको पढाइमा अवरोध भइरहेको महेन्द्र प्रस्थाबित निमावि गडसेराका शिक्षक प्रकाशबहादुर रावलले जानकारी दिनु भयो । जिल्लाका ९ वटै स्थानिय तहका अधिकांश सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु परिक्षामा सहभागि हुँदैछन् ।

शिक्षक सेवा आयोगले माविको परिक्षा यही असोज ११, आधारभूत तहको १२ र प्राथमिक तहको परीक्षा १३ गते लिने भएको छ । विभिन्न समयमा राष्ट्रिय र स्थानीय विदाका नाममा दुई महिना बढी विदा हुने डोटी जिल्लाका विद्यालयहरुमा विद्यालय खुलेको समयमा समेत नियमित पठनपाठन नहुँदा विद्यार्थीहरुको पढाईमा अवरोध सृजना हुने गरेको केदारेस्वर माबी कपल्लेकीका बिद्यार्थी रोसन ऐरले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘बिभिन्न बिदा,शिक्षक नआउदा हाम्रो पढाई पुरा भएको छैन अब झन शिक्षक परिक्षा दिन जानु भएको छ,कसरी पढाई सकिनो ।’ शिक्षक सेवा आयोगको परिक्षाका कारण चालू शैक्षिक सत्रमा विद्यालयहरुको पढाइ निकै प्रभावित भएको डोटीका विद्यार्थीहरुको गुनासो छ ।