यमलाल भुसाल, बुटवल ।
बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा शिक्षक, कर्मचारी भर्ती गर्दा क्याम्पस प्रमुखले आफ्ना मान्छेलाइ प्रश्नपत्र आउट गराएर चिट चोराएर नियुक्ति दिइएको भन्दैं नेपाल विद्यार्थी संघले आगजनी र तोडफोड गरेका छन ।
क्याम्पस प्रमुख तारा प्रसाद उपाध्यायले ११ जना आफ्ना मान्छेलाई शिक्षक, कर्मचारीमा भर्ती गरेको भन्दै नेपाल विद्यार्थी संघले नयाँ नियुक्त गरिएका शिक्षक कर्मचारीहरु नाताबाद, कृपाबाद , आसेपासे र चिट चोराएर नियुक्ति गरिएकोे आरोप लगाएका छन् ।
नेपाल विद्यार्थी संघले लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले क्याम्पस प्रमुखको कुर्ची, टेबलमा आगजनी गरेका छन ।
उनीहरुले क्याम्पस प्रमुख चढ्दै आएको स्कार्पियो गाडीमा तोडफोड गरेका छन् । विद्यार्थीहरुले नयाँ नियुक्त गरिएका शिक्षक कर्मचारीहरु भनसुनका आधारमा नाताबाद, कृपाबाद र आसेपासे भएको आरोप लगाएका छन् ।
‘आफ्ना मान्छेलाइ प्रश्नपत्र आउट गराएर, चिट चोराएर नियुक्ति दिइएको छ, हामी यो मान्दैनौं ।
तत्काल निर्णय नसच्चाए थप आन्दोलन चर्काउछौं,’ नेबिसंघ केन्द्रीय सदस्य पाण्डेले भन्नु भयो । क्याम्पसले आफूखुसी मान्छेलाई जागिर दिएको भन्दै निर्णय सच्चाउन नेविसंघले अल्टिमेटम समेत दिएको छ ।
नेबिसंघ केन्द्रिय सदस्य पाण्डे,लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति क्षेत्री ,नेबिसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सभापति महेश शर्मा ,राममणिका सभापति चिरञ्जिबी बस्याल, लुम्बिनी इन्जिनियरिङ कलेजका सभापति दीपक फौजदार,स्वीय सभापति स्वचित वाग्ले , सिद्धार्थका सचिब दीपक घिमिरे लगायतले क्याम्पसले आफुखुसी मान्छेलाइ जागिर दिएको भन्दै निर्णय सच्चाउन अल्टिमेटम समेत दिएका छन् ।
क्याम्पस प्रशासनले भने बैधानिक ढंगले शिक्षक कर्मचारी नियुक्ति गरिएको जनाएको छ । उता क्याम्पसमा आगजनी र तोडफोड गर्नेहरु भागेकोले प्रहरीले खोजी गरीरहेको जनाएको छ ।
घटनाका सम्बन्धमा अहिले क्याम्पस संचालक समितिको बैठक बसिरहेको छ ।











प्रतिक्रिया