झिनो अंकले नेप्सेमा गिरावट

0
Shares

काठमाडौं, (नेस)
साताको अन्तिम कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। बिहीबार नेप्से ३ दशमलव ७४ अंकले घटेर १२५५ दशमलव शून्य ७ अंकको बिन्दूमा झरेको छ। यस दिन कुल ५५ करोड ५० लाख ६१ हजार ५०२ रुपियाँको कारोबार भएको छ।

यस दिन कारोबारमा आएका तीन वटा समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ। जसमध्ये सबैभन्दा धेरै होटल समूह २० दशमलव ५७ अंकले बढेको छ भने विकास बैंक समूह र अन्य समूह क्रमशः ४ दशमलव ६९ अंक र १ दशमलव ८३ अंकले बढेका छन्।

त्यस्तै सबैभन्दा धेरै निर्जीवन समूह १०७ दशमलव ४८ अंकले घटेको छ। साथै जीवन बीमा समूहमा पनि करिब ८० अंकको गिरावट भएको छ। बिहीबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ५१ अंकले घटेर २६६ दशमलव शून्य ९ को बिन्दूमा झरेको छ।

समग्र परिसूचकमा गिरावट भएको दिन ग्लोबल आइएमई समन्नु स्किम–१ का लगानीकर्ता तथा एनआईसी एसिया बैंकका लगानीकर्ताले कमाएका छन्। त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा सिनर्जी पावर कम्पनीका लगानीकर्ता रहेका छन्। बिहीबार सबैभन्दा धेरै सानिमा माई पावर कम्पनीको शेयर कारोबार भएको छ।