रिचार्जरको सामान मन नपरे फिर्ता योजना

0
Shares

काठमाडौं, (नेस)
चाडपर्वलाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फिर्ता’ योजना ल्याएको छ । जसअन्तर्गत रिचार्जर एपको माध्यमबाट लुगा तथा जुत्ता खरिद गर्ने क्रममा आफँसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरले जनाएको छ ।

ग्राहकहरुले सामान अर्डर गरेर ट्राई गरेपछि मन नपरेको खण्डमा तत्कालै उक्त सामान फिर्ता गर्न सक्नेछन् । ‘रिचार्जरबाट सामान अर्डर गरेपछि पाएको सामान मन नपरेर फिर्ता गर्दा कुनै किसिमको रकम तिर्नु पर्दैन ।’ रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भन्नुभयो ।

पछिल्लो समय अनलाइन तथा विभिन्न एपबाट सामान किन्ने ग्राहकले कतिपय अवस्थामा आफँले अर्डर गरे अनुसारको समान पाउन सकिरहेका छैनन् भने पाएको सामान पनि अनलाइनमा देखाइएअनुसारको नहुने समस्या छ । यो अवस्थालाई मध्यनजर गर्दै रिचार्जरले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर यस्तो योजना शुरु गरेको रिचार्जरका प्रबन्धक दामोदर श्रेष्ठको भनाइ छ ।

रिचार्जर एपको माध्यमबाट दशंैका बेला हवाई जहाजको टिकट काट्दा ५० प्रतिशत क्यास ब्याक पनि पाइने छ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउन्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास व्याक पाइने छ । यसरी प्राप्त हुने क्यास ब्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउन्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।