सकियाे नाडा शो

0
Shares

काठमाडौं (नेस)
सवारी साधनको कुम्भ मेला मानिने ‘नाडा अटो शो’को तेह्रौ संस्करण आईतबार सकिएको छ। भृकुटीमण्डपमा ६ दिनसम्म चलेको शोमा करिब ६५ हजारले अवलोकन गरेको आयोजक संस्था नाडा अटोमोबाइल एसोसिएसनले जनाएको छ ।

नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले यस पटकको मेला अत्यन्त सफल र व्यवस्थित तरिकाले सम्पन्न भएको बताउनुभयो । ‘मेला सभ्य र भव्य रुपले सम्पन्न भयो । अवलोकन र बिक्रीका हिसाबले पनि हामी सफल रह्यौं ।’–दाहालले भन्नुभयो।

यस वर्षको मेलामा क्रेता र बिक्रेताबीच अत्याधिक ‘डिलिङ’ भएको र विद्युतीय सवारी साधनलगायत नया अवधारणा र फरक फिचर सहितका सवारी कारहरु प्रदर्शन राखिएका कारण मेला सफल भएको अध्यक्ष दाहालको भनाई छ । तर मेलामा बुकिङ भएका सवारी साधनको संख्या र कारोबार भएको रकमका विषयमा भने नाडाले आधिकारिक जानकारी दिएको छैन ।

यसपटकको मेलामा १९ ब्रान्डका चारपाँग्र्रे तथा २० ब्रान्डका २ पा“ग्र्रे सवारी साधन प्रदर्शन गरिएको थियो भने लुब्रिकेन्ट्स, टायर, ब्याट्रीसहित साना ठूला गरी १ सय ३४ ओटा स्टलहरु राखिएका थिए ।

मेलामा ‘बेस्ट सपोर्टिङ स्टल’का रुपमा रिता अटोमोबाइल ‘बेस्ट स्टल टु ह्विलर’तर्फको अवार्ड टीभीएसज कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स, र ‘बेस्ट स्टल फोर ह्विलर’को अवार्ड भक्सवानको आधिकारिक वितरक पूजा इन्टरनेसनलले पाएको छ। यस संस्करणको नाडा अटो शोको ‘टाइटल स्पोन्सर‘ सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट्स रहेको थियो ।