पछि हटे वीरगन्ज महानगरका मेयर



कृष्णउदास खनाल, वीरगन्ज ।
सामाजिक संजाल मार्फत संघीय समाजवादी पार्टी छाडेको घोषणा गरेका वीरगन्ज महानगरपालिका मेयर विजय सरावगी पछि हटेका छन् ।
एनले आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै आफूले पार्टी छाड्न लागेको भन्ने कुरा गलत भएको दाबी गरेका छन् । जिल्ला र महानगरपालिकाको कार्य सम्पादनमा पार्टीका केही ब्यक्तिहरुसंग असंतुष्टी रहेपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवसंगको भेटपछि सबै असंतुष्टीहरु अन्त्य भएको उनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

उनले चुनावमा बाचा गरे अनुसार नै आफू वीरगन्ज महानगरपालिकाको बिकासमा लागिरहने पनि बताएका छन् । उनले यसअघि चार दिन पहिला सामाजिक संजाल ह्वाटसप मार्फत पार्टीका केही ब्यक्तिहरुले काम गर्न नदिएको भन्दै पार्टी समक्ष राजिनामा पेश गरेको बताएका थिए । उधोगीका रुपमा परिचित सरागवी २०७३ सालमा मात्रै फोरममा प्रवेश गरेका हुन् । उनलाई फोरमले टिकट दिएपछि मेयरमा उठेका थिए र फोरमबाटै उनी वीरगन्ज महानगरपालिकाको मेयर भएका थिए । यद्यपी फोरमको भोटले भन्दापनि आफ्नो ब्यक्तिगत छापका कारण चुनाव जित्न सफल भएको भन्दै उनले फोरमका जिल्ला तहका केही नेताहरुले उनलाई बिभिन्न नियुक्तमा अप्ठेरो सृजना गरेपछि उनी पार्टीसँग असंतुष्ट भएका हुन् । उनी फोरम छाडेर नेकपामा प्रवेश गर्ने हल्ला समेत यहाँ चलेको थियो । उनी केही बर्ष अघि भने माओवादी निकटमा ब्यवसायीमा रुपमा चिनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्