ठोरीका स्थानीय दूषित पानी पिउन बाध्य



कृष्णउदास खनाल, वीरगन्ज ।
वर्षा र हिउँ दुवै मौसममा पर्सा जिल्लाको ठोरी गाउँपालिकामा रहेको तीनघरे मगरटोलवासीका स्थानीयहरु खोलाको दूषित पानी पिउन बाध्य छन्।
ठोरी गाउँपालिका –१ मगरटोलवासीका लागि पिउने पानीको स्रोत नै चिन्ताको विषय बनेको हो । २०५६ सालमा गाउँदेखि २ किलोमिटर टाढा सरस्वती खोलाबाट पिउने पानीको स्रोत बनाइएको थियो । तर गत वर्षको बाढीले पाइपलाइन बगाएपछि अहिले त्यहाँका मानिसहरू पुनः खोलाको दूषित पानी पिउन बाध्य भएका हुन् ।

एक वर्षदेखि पाइपको व्यवस्था गरी खानेपानी आयोजना सञ्चालन गर्न नसक्दा खोल्साखोल्सीको धमिलो पानी पिउन बाध्य भएका छन् । स्थानीय तह गठन भएको एक वर्ष भएको छ । तर गापासमेतले उनीहरूको अनिवार्य आवश्यकतामा पर्ने खानेपानीसम्मको व्यवस्था मिलाइदिन सकेको छैन । तीनघरेका चेतबहादुर केसीले एक वर्षदेखि आपूmहरू दूषित पानी पिउन बाध्य भएको बताए ।

उनले वर्षायाममा चिता खोलाको किनारमा खोस्रेर कुवा बनाउने र त्यहाँको पानी बोक्दै आए पनि बाढीले कुवा भत्काइदिने, बगाइदिने गरेकोले बाढीपिच्छे समस्या हुने गरेको बताए । मगरघरे टोलमा ५४ घरधुरी छन् । स्थानीय लक्ष्मी आलेले स्वच्छ खानेपानीको कुरै छोडौं, खोलाको पानीसमेत खानलाई बाढीको समयमा अप्ठ्यारो हुने गरेको बताइन् । उनले स्थानीय तह गठनपछि समस्या समाधान हुने आशा गरे पनि त्यो आशा पूरा हुन नसकेकोमा दुःखेसो पोखिन् ।दूषित पानीको कारण सो बस्तीमा झाडापखाला, भाइरल ज्वरो, आउ, जस्ता रोगले थप पीडा दिने गरेको छ । खोलाको पानी कपडाले छानेर पिउने गरेको धनकुमारी थापाले बताइन् । गाउँपालिकाको धेरै जसो स्थानमा अहिले खानेपानीको समस्या रहेको अध्यक्ष पि.एल.श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्