टंकराज अधिकारी, पोखरा ।
रोजगारीको खोजीमा युवा पलायन भईरहेका समयमा कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नं १ ढिकुरपोखरीमा भने सामूहिक व्यवसायिक कृषिको पहल गरी अन्यका लागि पनि युवाहरू अनुकरणीय भएका छन् ।
खेती बिहिन खाली जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी, फलफूलको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै रोजगारी सृजना गर्ने योजनाका साथ सकृय बन्दै श्री सिम सिम्ले नेपाने बहुउद्देश्यीय कृर्षि फर्म मार्फत महत्वाकांक्षी योजना अघि बढाइएको हो ।
कृषि फर्मका अध्यक्ष हरिप्रसाद भुगाईका अनुसार बाँझा जग्गामा व्यवसायिक कृषि मार्फत बढ्दो बेरोजगारीको अन्त्य गर्ने अभियानको लक्ष्य छ । सिम सिम्ले नेपाने क्षेत्रको करिब तीन हजार २०० रोपनी जग्गा भाडामा लिएर बहुउद्देश्यीय व्यवसायिक कृषि बढाउने सोच राखिएको भुगाईले बताए ।

हाल २०० रोपनी जग्गामा वार्षिक प्रति रोपनी एक हजार ५०० का दरले २५ बर्षका लागि लिएर काम थालिएको छ, आवश्यकता अनुसार क्षेत्राधिकार बढाउदै लैजाने लक्ष्य राखिएको उनले भने ।
समाजका जेष्ठ नागरिकको अविभावकत्व र निर्देशन, युवाको कृयाशिलता, साविक ढिकुपोखरी गाविस वडा नं. १ भित्रका सर्वसाधारण मात्र संस्थापक शेयर सदस्य बनाई प्रति सदस्य ५१ हजार शेयर रकम कायम गरिएको कृषि फर्मका उपाध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो । संस्थामा हाल १९८ जना शेयर सदस्य आवद्ध छन् ।

पशुपालन र व्यवसायिक तरकारी खेती सँगसगै अगाडि बढाउने क्रममा आधुनिक गोठ निर्माण गरी ३८ वटा माउ लैना भैंसी (केहि दिन भित्रमा १५ माउ लैना भैसी थप गर्ने) पालिएको छ । त्यस्तै ३२ वटा पाडापाडी, एक रागो, दुईवटा माउ गाई र एक बाच्छो फर्ममा छन । फर्म परिसरमा १० हजार कफी, दुई सय ६० किवी, पाँच सय एवोकाडो, पाँच सय मेकेडेनियनटका बिरुवा रोपिएको छ ।
समूहले आउँदो मंसिर भित्रमा बृहत कृषि योजना तयार गर्दै भौगालिक अवस्थिति तापक्रम, माटो जाँच गरी कृषिको सम्भाव्यताको पहिचान गर्न लागिएको संस्थाका शेयर सदस्य एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रवक्ता विनोद कुवँरले जानकारी दिए ।

उहाँका अनुसार संस्थाको पाँच वर्षे कार्ययोजनामा पाँच सय भैंसी, एक हजार बाख्रा, २० हजार कुखुरा, फलफुलका लागि १००÷१०० रोपनीको १० वटा क्षेत्र छुट्टाएर व्यवसायिक कृषिमा लाग्ने योजना अघि सारिएको छ । त्यस्तै ५० जनासम्मको घरवास कार्यक्रम सञ्चालन र एक सय जना अट्न सक्ने क्षमताको बहुउद्देश्यीय सभा हल निमार्ण गरि कृषिकै अध्ययनका लागि एक लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।
हाल एक करोड ५० लाख रुपैयाँको बजेटमा सञ्चालित फर्ममा शेयर सदस्यबाट एक करोड ९८ हजार रुपैयाँ उठेको छ भने अन्नपुर्ण गाँउपालिकाबाट ४० लाख रुपैयाँ पुर्वाधार निमार्णको लागि अनुदान प्राप्त भएको छ । त्यस्तै सात लाख ८० हजार रुपैयाँ हरियो बनको सहयोगमा माछापुच्छ«े उत्तम कफी उत्पादन सहकारी सस्ंथाबाट सहयोग प्राप्त भएको संस्थामा यहाँबाट आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
युवा स्वरोजगार अभिबृद्धिका लागि अन्नपूर्ण गाउँपालिकाले यस किसिमको कृयाशिलतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले धारणा राखे । कृषिको आधुनिकीकरणका माध्यमबाट कृषि प्रतिको अनिच्छा कम गर्दै स्वरोजगार हुनका लागि अभिप्रेरित गर्नुपर्ने उनको भनाइ छ ।

युवाहरूको यस किसिमको सकृयताले पछिल्ला समयमा चुनौतीपूर्ण बन्दै गएको जग्गा बाँझिने क्रम अन्त्य हुने र प्रत्येक टोल र वस्तीका जग्गा उर्बर बन्दै आयआर्जनमा उपयोगी बन्ने शेयर सदस्य एवम् प्रतिनिधि सभा सदस्य दुर्गा विकको धारणा छ ।
युवा पलायनलाई रोक्न यस किसिमका जागरुकतालाई प्रोत्साहित गरिनु अपरिहार्य भएको उनको भनाइ छ ।
फर्मका सचिव राजकुमार कुवँरका अनुसार देशका अधिंकाश स्थानमा जग्गा बाँझिने क्रम बढीरहेका अवस्थामा ढिकुरपोखरीमा सञ्चालित यस अभियानले अन्य स्थानमा पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको बताए ।











प्रतिक्रिया