नयाँ प्रविधि र कम्प्यूटरको आधुनिक शिक्षाबारे अभियान
सीताराम चौधरी, कपिलवस्तु ।
प्रविधि र कम्प्यूटर क्षेत्रमा आबद्ध व्यवसायीहरुको छाता संगठन कम्प्यूटर एशोसियसन नेपाल (क्यान) कपिलवस्तुको एघारौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले माधव घिमिरेलाई नेतृत्व प्रदान गरेको छ । घिमिरे कपिलवस्तुको चन्द्रौटास्थित राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्सका प्रबन्ध निर्देशक हुन् । युवा व्यवसायीलाई अघि बढ्न सधैं प्रेरणा दिने घिमिरे क्यान महासंघ कपिलवस्तुको अध्यक्षमा निर्वाचित भएसँगै युवा व्यवसायीमा उर्जा थपिएको छ ।

क्यानको सम्पन्न चौथो अधिवेशनले घिमिरेसहित ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सन्दीपकुमार श्रीवास्तव, सचिवमा अर्जुन थापा, सह–सचिवमा रामसुभागे थारु र कोषाध्यक्षमा सुरेन्द्र भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ । कार्यसमितिको सदस्यहरुमा नारायण पौडेल, दिपक पौडेल, प्रकाश चौधरी, अनिल अधिकारी, बिजयता श्रेष्ठ र लक्ष्मी अधिकारी चयन हुनुभएको छ ।

क्यानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले नव निर्वािचत पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । सपथ ग्रहण गराउँदै क्यान महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष कुँवरले लक्ष्य, उद्देश्यभित्र रही कार्य गर्न र संघलाई चलायमान बनाउँदै कम्प्यूटर व्यवसायमा आबद्ध सम्पूर्ण व्यवसायीहरुको हकहितका लागि अगाडि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति संयोजक नारायण प्रसाद खनालले जिल्लाका सबै प्रविधि र कम्प्यूटर क्षेत्रमा आबद्ध व्यवसायी तथा प्रशिक्षण केन्द्रहरुलाई जोड्दै नयाँ प्रविधि तथा कम्प्यूटरको आधुनिक शिक्षाबारे विशेष अभियान थाल्न सुझाव दिनुभयो । बार्षिक साधारण सभामा विशिष्ठ अतिथि बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशब श्रेष्ठ, शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले क्यान महासंघले स्थानीय सरकारसँग साझेदारीमा कार्य गर्नुपर्ने र यसको लागि आफूहरु सधै इच्छुक भएको बताउनुभयो ।
क्यान प्रदेश ५ का अध्यक्ष ध्रुबराज शर्मा, क्यान महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष लक्ष्मण बेल्बासे लगायतले सूचना प्रबिधिको बिकास बिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभयो । नव निर्वाचित अध्यक्ष माधव घिमिरेले समितिलाई सशक्त बनाउन विभिन्न योजनाहरु लागू गर्ने उद्घोष गर्नुभयो । विभिन्न उप–समिति बनाएर काम अघि बढाउने समेत उनले प्रतिबद्धता जाहेर गर्नुभयो । विगतलाई स्मरण गर्दै क्यानलाई जीवित राख्न नयाँ सोँच र योजनाका साथ फरक ढंगले अघि बढ्दै जिल्लाका सबै कम्प्यूटर र प्रविधि क्षेत्रका व्यवसायीलाई संगठित गर्दै जाने घिमिरेले बताउनुभयो ।
२०५८ साल वैशाख १७ गते स्थापना भएको क्यान कपिलवस्तुमा हाल संस्थागत २९ र व्यक्तिगत २६ गरी कुल ५५ सदस्य आबद्ध रहेको नवनिर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।











प्रतिक्रिया