– नरेश फुयाँल
पितापुर्खा साहू महाजनको खलक । राणाकालमा काठमाडौंका ३२ महाजनमध्येका एक थिए पुष्करलाल श्रेष्ठका पुर्खा । पुख्र्यौली पेशा व्यापार । बुवा पनि व्यापारमै थिए । परम्परागत व्यापारलाई निरन्तरता दिनु पुष्करलालको सनातनी धर्म थियो ।
पितापुर्खाको सम्पत्ति छैन, भोलिको जिन्दगी कसरी धान्ने भन्ने सुदूरभविष्यको चिन्ता नभएर पनि होला— स्कुल पढ्दा उनीसँग कुनै लक्ष्य थिएन । हाँसखेल, रमाइलो, साथीभाइ अनि भेटघाटमै जिन्दगीका पाना पल्टिरहेका थिए । उमेरको आकर्षण भनौं या भाग्यको खेल— एकै नजरमा राजेश्वरी श्रेष्ठले पुष्करलालको मन चोरिन् । समय हुलाक हुँदै डाँकमार्फत हिँड्ने चिठीको थियो । चिठी बाक्लै आदानप्रदान हुन थालेपछि त्यसले सशरीर भेटको रूप लिन थाल्यो । कहिले गोदावरी त कहिले बूढानीलकण्ठ उनीहरूका ‘डेटिङ स्पट’ थिए ।
पुष्करलाललाई बडो अनौठो लाग्यो राजेश्वरीको स्वर सुनेर । उनी तरादेवी, अरुणा लामा, मीरा राणाका गीत हुबहु गाउँथिन् ।
“अहिलेको जस्तो सजिलो थिएन त्यो बेला लभ गर्न र डेटिङ जान, लुकीचोरी बडो मुस्किलले डेटिङ जान्थ्यौं । बाटोमा उनी गीत गाउँथिन्, मलाई खुब मीठो लाग्थ्यो उनको स्वर । हुन त आफ्नो गलफ्रेन्डको स्वर सबैलाई राम्रै लाग्छ होला तर मलाई साँच्चै राम्रो लाग्यो,” २०३० दशकको मध्यतिर फर्किंदा उनी रसिक हुन्छन्, “साँच्चै यिनको स्वर राम्रो हो कि आफ्नो गलफ्रेन्ड भएर मात्रै राम्रो लागेको हो ? आफैंमा प्रश्न उठ्यो । रेडियो नेपाल लगेर स्वर परीक्षा दिन लगाउँछु र गायिका बनाउँछु भन्ने सोचें ।”
चुरोटको ठुटो
०३६ सालमा विवाह गरेकै वर्ष उनले राजेश्वरीलाई रेडियो नेपाल लिएर गए— स्वर परीक्षाका लागि । ३२५ जनाले परीक्षा दिएकोमा १४ जनामात्रै पास भए । १४ जनामा राजेश्वरीको नाम १ नम्बरमा थियो । पुष्करलालई आफ्नी गलफ्रेन्ड भएर मात्रै उनको स्वर राम्रो लागेको होइन रहेछ । राजेश्वरीको स्वर साँच्चै राम्रो रहेछ । ०३६ सालको प्रेमसँग जोडिएको प्रसंग सुनाउँदा पुस्कर खुलेरै हाँस्छन् ।
प्रकाश श्रेष्ठ त्यो बेला चलेका गायक । उनैसँग युगल गीत गाउने भइन् राजेश्वरीले । अहिलेको जस्तो ट्र्याकमा गाउने चलन थिएन । ‘वन टेक’मा गाउनु पथ्र्यो । वाद्यवादन र गायन एकैपटक हुन्थ्यो । तारादेवी, मीरा राणा उनले गाएको हेर्न स्टुडियोमै आएका थिए । पुष्करलाल पनि कन्ट्रोल रुममा बसेर हेरिरहेका थिए । गीत पटक–पटक बीचमै पुगेर रोकिएपछि पुष्करलालाई त्यहीँका एक स्टाफले भने, “कतै श्रीमान्लाई सँगै बसेको देखेर त होइन ? तपाईं बाहिर गइदिनुस् एकपटक ।”
पुष्करलालको कानमा परेको थियो— रेडियो नेपालको वाद्यवादनमा बसेकाहरूलाई खाजा, पैसा वा यस्तै केही सहयोग गर्यो भने राम्रोसँग बजाइदिन्छन्, होइन भने बिगारिदिन्छन् । सत्य हो या होइन, उनलाई थाहा थिएन । तर, उनले वाद्यवादकलाई त्यो बेला निकै महँगो पर्ने मोहर चुरोट लगेर दिएका थिए । ‘तपाईं बाहिर गइदिनुस्’ भनेपछि बाहिर निस्किँदै गर्दा उनले देखे— पुष्करलालले दिएको चुरोट तानेर वाद्यवादकले फालेको ठुटो एक जनाले सल्काए र पिउन थाले ।
“भुइँमा फालिएको चुरोटको ठुटो सल्काएर खाने ती व्यक्ति को थिए, म अहिले तपाईंहरूलाई भन्न सक्दिनँ तर उनको नाम सुन्दा पनि त्यो बेला जो–सुकैको शीर श्रद्धाले झुक्थ्यो । अहिले पनि झुक्छ,” पुष्करलाल सम्झिन्छन्, “त्यो बेला मैले सम्मान गर्ने कलाकारको जीवन त यस्तो पो हुँदोरहेछ भन्ने लाग्यो । मेरो मन त्यो बेला छियाछिया भयो । त्यही क्षण मलाई लाग्यो— यस्ता कलाकारलाई मैले कसरी सहयोग गर्न सक्छु होला !”
रहरको भर
उनले सोचे— म पत्रिका निकालेर उनीहरूलाई सहयोग गर्छु । विजय उदय पाल्पालीलाई सम्पादक राख्ने कुरा भयो । विजयलाई उनले भने, “यो पत्रिकाले कलाकारलाई केही न केही सहयोग गर्नुपर्छ ।”
परिवारको पेशा व्यापार थियो । त्यसबाट बाहिर निस्किनु सजिलो थिएन । विद्रोह नै गर्नुपर्यो । ६ महिनासम्म बुवा बोलेनन् । हजुरबुवा छोरालाई भन्थे, “यसले भएभरको सबै सम्पत्ति खतम पार्छ । पत्रकारिता गर्छु भन्छ । बुझेर लागेको हो कि कसको उक्साहटमा लागेको हो ? यसलाई सम्झा ।”
हुन पनि हो । जुँगाका रेखी भर्खर बस्न थालेका थिए । बुझेका केही पनि थिएनन् । न त पत्रकारिता पढेको नै । पत्रिका किनेर पढ्ने चलन थिएन । सित्तैमा पाए पढ्ने, नपाए नपढ्ने प्रवृत्ति थियो । त्यसमा पनि रंग पत्रकारिता गर्ने भनेर उनी लागिरहेका थिए, जुन बेला मुस्किलले वर्षमा एउटा पनि चलचित्र बन्दैनथ्यो । त्यही बेला उनी कलासम्बन्धी पत्रिका निकाल्न खोज्दै थिए । पढेलेखेका र बुज्रुकहरू ‘जुन कुराको बजार नै छैन, त्यसमा किन हात हाल्न लागेको ?’ भन्थे । उनलाई त्यही कुरा चुनौती लाग्यो । सहजै सफलता हात पर्ने कुरा त जसले पनि गर्छ नि । त्यो के सफलता भयो र ? जसलाई शून्यदेखि शुरु गरेर उचाइ दिन सकिन्छ, त्यो पो सफलता ! उनलाई चुनौतीसँग खेल्न मन लाग्यो । त्यसैले कसैको आग्रहले गलेनन् ।
५ हजार लगानी गरे । २ रुपैयाँ मूल्य राखे । नाम ‘कामना’ राखे । ०४१ मंसिर १५ गते ट्याब्लोइड साइजमा पत्रिकाको पहिलो अंक छापियो । १० पृष्ठ थियो । १५ सय प्रति छापे ।
शर्मिला मल्लको तस्बिर पहिलो पृष्ठमा छापे । उनी नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहार थिइन् । अरु कलाकारका पनि तस्बिर थिए । एक हप्तामै बजारबाट १५ सय प्रति बिक्री भयो । दोस्रो अंक ५ हजार प्रति छापे । १२ दिनभित्र ५ हजार प्रति बजारमा खोज्दा भेटिएन । हौसला बढ्दै गयो । पत्रिका लोकप्रिय हुँदै गयो ।
“त्यो बेला कसै न कसैको लगानीमा पत्रिका छापिन्थ्यो । मलाई त्यो बेला नै लाग्थ्यो— बजारमा पत्रिका बेचेर पैसा उठाउन र विज्ञापन छाप्न सकिएन भने स्वतन्त्र पत्रकारिता गर्न सकिँदैन,” पुष्करलाल भन्छन्, “त्यही बेला म शुरुमै विक्रेतालाई भन्थें— १ रुपैयाँ तिमी राख, १ रुपैयाँ मलाई देऊ । ‘कामना’भन्दा अगाडि पत्रिका बेचेर उठेको पैसाबाट अर्को अंक खासै निकालिँदैनथ्यो । यो परम्परा नै मैले शुरु गरेको हुँ । हामी पछि ‘विमर्श’ले पनि पत्रिका बेचेको हो । हरिहर विरही दाइ पनि यसै भन्नुहुन्थ्यो मसँग ।”
चलचित्रले मात्रै पत्रिका भरिँदैनथ्यो । त्यसैले गीत–संगीत, खेलकुद, सत्यकथा, चित्रकलालगायतका विषय पनि ‘कामना’ले समेट्थ्यो ।
आफैं प्रकाशक, आफैं रिपोर्टर । रहरले शुरु गरेको काम गर्नै पथ्र्यो । दिनको १६ घण्टासम्म काम गर्थे पुष्करलाल । पत्रपत्रिकाको संख्या खासै धेरै थिएन । भएका पनि राजनीतिक मात्रै हुन्थे । कलाकारको पनि समाचार हुन्छ र ? भन्ने समय थियो । पत्रकार देखेपछि कलाकार भाग्थे । बल्लबल्ल समय मिलाएर भेट्न गयो, बानी नभएकाले धेरैजसो बोल्नै जान्दैनथे । पुष्करलाल आफैं यस्तो बोल्नू भनेर सिकाउँथे ।
भुवन केसी त्यो बेला भर्खर आएका थिए । विश्व बस्नेत, शिव श्रेष्ठ, भुवन चन्द, शुभद्रा अधिकारी, शर्मिला मल्ल त्यो बेलाका नयाँ कलाकार थिए ।
‘कामना’ बजारमा लोकप्रिय भयो । शुरुमा भाग्ने कलाकार पछि पुष्करलालाई खोज्दै उनकै कार्यालय आउन थाले । ‘कामना’को लोकप्रियता यति धेरै भयो कि तत्कालीन राजा वीरेन्द्रले कुलेखानीको बाँध उद्घाटन कार्यक्रममा ‘कामना’लाई पनि निम्ता आयो ।
जसलाई गोली हानेको निराधार आरोप लाग्यो
पत्रकार आफैंले लगानी गरेर चलाएको पत्रिका । त्यसको आलोचना र ईष्र्या गर्ने पनि पत्रकार नै भए । कोही प्रत्यक्ष, कोही अप्रत्यक्ष । ‘तरुनी, हिरो–हिरोइनका ठुल्ठूला फोटा छापेपछि पत्रिका चलिहाल्छ नि’ भन्न थाले ।
०४६ सालको आन्दोलनमा अर्जुन शाही डीएसपी थिए । उनी नायक पनि थिए । लीलामणि पोखरेलले खुलामञ्चबाट भाषण गर्दा ‘शहिद सागरलाई अर्जुन शाहीले गोली हानेर मारिदिएको’ भनिदिए । अर्जुन शाहीको पोस्टर बनाएर बहिष्कार गरिएको संकेतस्वरूप क्रस बनाएर ठाउँठाउँमा टाँसियो । ज्यान जोगाउन अर्जुन भूमिगतै हुनु पर्यो ।
वास्तवमा अजुर्नले सागरलाई गोली हानेका होइनन् भन्नेमा पुष्करलाल विश्वस्त थिए । अर्जुनले पुष्करलाई कहिले कहाँबाट, कहिले कहाँबाट ‘लौ न मलाई सहयोग गर्नु पर्यो’ भन्थे । ‘कामना’ सागरकै घरमा पुगेर आफन्तलाई ‘अर्जुनले सागरलाई गोली हानेको होइन’ भनेर पुष्टि गराएर समाचार छापेरै छाडे ।
मृत्यु ! गलत थियो
डली गुरुङ नेपाली चलचित्रकी हिरोइन थिइन् । उनी काम गर्न फिलिपिन्स पुगेकी थिइन् । ‘डली ड्रग्सको व्यापार गर्थिन्, फिलिपिन्सको प्रहरीले पक्राउ गरेपछि उनले त्यहाँको जेलमै आत्महत्या गरिन्’ भन्ने समाचार नेपालका केही ट्याब्लोइड र साप्ताहिकहरूले छापे ।
‘कामना’लाई त्यो समाचारमाथि विश्वास लागेन । उसले खोज्न थाल्यो । उनको परिवारसम्म पुग्यो । परिवारमार्फत दूतावास हुँदै त्यहाँको प्रहरीसम्म पुगेर बुझ्दा डलीले न आत्महत्या नै गरेकी थिइन्, न त स्वाभाविक मृत्य नै भएको थियो । उनी जीवितै थिइन् ।
‘कामना’ले उनको अन्तर्वार्ता लियो । अन्तर्वार्ता लिँदैमा मान्छेले विश्वास गर्न सक्ने अवस्था थिएन । त्यसैले उनले अन्तर्वार्ताको आवाजसमेत रेकर्ड गरी सुरक्षित राखेका थिए । अन्तर्वार्ताको अन्तिममा उनले लेखे, “तपाईंलाई यो अन्तर्वार्ताप्रति विश्वास नलागे हामीले लिएको यो अन्तर्वार्ताको भ्वाइस पनि कार्यालयमा आएर सुन्न सक्नुहुन्छ ।”
त्यो अन्तर्वार्ता छापिएपछि चार–पाँच दिनसम्म उनको कामै कार्यालय आउनेलाई आवाज सुनाउने भयो ।
ईखले जन्माएको ‘साधना’
अनुसन्धानमा आधारित थुप्रै समाचार प्रकाशन गरे पनि ‘तरुनीको फोटो छापेर त पत्रिका चल्यो नि’ भन्नेहरूको मुखमा बुझो लगाउन उनले ०४९ मा ‘साधना’ प्रकाशन थाले । ‘साधना’को उद्देश्य थियो— कम्तीमा एउटा आवरण कथा खोजमूलक होस् ।
कपील काफ्ले, धर्मानन्द अधिकारी, लक्ष्मण अधिकारी र आरके धर्मस्थलीसहितका पत्रकारको सम्पादकीय टिम थियो । खुब मेहनत गरेर कम्तीमा आवरण कथा अनुसन्धानमूलक बनाउँथे ।
“मलाई एउटा स्टोरीको याद आउँछ । रानीघाट दरबारको स्टोरी तयार पार्यौं ‘साधना’का लागि । त्यो पढ्दा हामीलाई कताकता भारतको ताजमहलजस्तो लाग्यो । ताजमहल मुगल सम्राट शाहजहाँले आफ्नी रानी मुमताजको सम्झनामा बनाएका थिए । रानीघाट दरबार खड्ग शमशेरले आफ्नी दिवंगत रानीको सम्झनामा बनाएका थिए । त्यसैले ताजमहलसँग निर्माणको हिसाबले केही विशेषता मिलेपछि यसको शीर्षक ‘रानीघाट दरबार’ होइन, ‘रानीमहल’ राख्यौं । पछि यसलाई सबैले रानीमहल भन्न थाले । अहिले रानीघाट दरबार भनेर कसैले पनि चिन्दैन,” उनी भन्दै थिए ।
‘साधना’लाई पनि पाठकले रुचाए । अब उनकै साथीभाइहरूले भन्न थाले, “महिनाको एकदिन निस्किने न हो, जति पनि समय छँदै छ । के गाह्रो भयो र !”
जे गरे पनि आलोचनामात्रै ? यिनीहरूलाई दैनिक पत्रिका नै निकालेर देखाउँछु— उनले संकल्प गरे ।
उनलाई सधैं केही नयाँ गरौं भन्ने लाग्ने, चुनौती नै मोल्न मन पर्ने । सोचे— अरुले बिहान निकाल्छन्, म बेलुका निकाल्छु ।
दिनभरिको घटना थाहा पाउन रेडियो नेपालको ७ बजेको समाचार कुर्नुपथ्र्यो । त्यसको विकल्पका रूपमा उनले ०५० मा ‘महानगर’ नामक सन्ध्याकालीन दैनिक पत्रिका प्रकाशन शुरु गरे ।
कहिलेकाहीँ एकैदिन तीन वटा संस्करणसम्म निकालेको उनी सम्झन्छन् । गिरिजाप्रसाद कोइराला संसद्लाई सम्बोधन गर्दागर्दै लडेको समाचार आधा केही समयभित्रै ‘महानगर’ले छापेर बजारमा पुर्याइसकेको थियो ।
मनमोहन अधिकारी प्रधानमन्त्री थिए । चियापानका लागि भनेर उनले कलाकारलाई बालुवाटारमा बोलाएका थिए । उनी भने जिल्लाको एक कार्यक्रममा सहभागी भएर हेलिकप्टरबाट काठमाडौं फर्किंदै थिए । हेलिकप्टरका क्याप्टेन रवीन्द्र शेरचनले नेपालगन्जमा जहाज ल्यान्ड गर्दा एटीसी (एयर ट्राफिक कन्टोलर) संवादमार्फत थाहा पाएछन्— प्रधानमन्त्री चढेको हेलिकप्टर कहीँ क्र्यास भएको छ । उनले जहाज ल्यान्ड गरेर पुष्करलाललाई फोन गरे । पुष्करलालले समाचार छापेर प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा फोन गर्दा प्रधानमन्त्रीको दुर्घटनाबारे बालुवाटार बेखबर थियो ।
‘समाचारपत्र’को यात्रा
‘कामना’, ‘साधना’ र ‘महानगर’ तीन वटै पत्रिका सफल भए । एकातिर सफलताको हौसला, अर्कोतिर पत्रिका प्रकाशनको शुरुमै ‘गोरखापत्र’जस्तै दैनिक पत्रिकाको प्रधान सम्पादक हुन्छु भनेर देखेको सपनाको महत्वाकांक्षा । सफलताले पुष्करलाललाई अगाडि बढाउँदै लग्यो । ‘गोरखापत्र’को सरकारपक्षीय एकोहोरो समाचारको विकल्प र स्वतन्त्र पत्रकारिताको नमुनाका रूपमा ब्रोडसिट दैनिक निकाल्ने सोचिरहेका थिए उनी । त्यही बेला ठूलो लगानी र आकारमा तामझामका साथ ‘कान्तिपुर’ दैनिक प्रकाशन हुन थाल्यो । उनी हच्किए ।
वर्ष बित्दै गए । तर, निजी क्षेत्रको सञ्चारमाध्यमबाट पनि उनलाई चित्त बुझेन । आफूले सोचेजस्तो कन्टेन्ट पाएनन् । पुष्करलालले आँट गरे— प्रजातन्त्रको रक्षा र राजनीतिक स्थिरतालाई सहयोग पुर्याउन स्वतन्त्र पत्रकारिता हुनुपर्छ र यसका लागि मैले ब्रोडसिट दैनिक शुरु गर्नुपर्छ ।
उनले ०५२ मा १२८ जनाको सम्पादकीय टिम खडा गरे । प्रकाशन आरम्भ भयोे— ‘आजको समाचारपत्र’ । (पछि यसको नाम परिवर्तन गरेर ‘नेपाल समाचारपत्र’ राखियो ।)
तर, सधैं सोचेजस्तो हुँदैन । त्यही वर्ष ‘श्री सगरमाथा दैनिक’, ‘स्पेसटाइम दैनिक’, ‘हिमालय टाइम्स’ जस्ता पत्रिका निस्किए । ‘गोरखापत्र’ र ‘कान्तिपुर’ पहिलादेखि नै छँदै थिए । एकातिर पाठक बाँडिए, अर्कातिर अघिल्ला आफ्नै प्रकाशनमा जस्तै पर्याप्त गृहकार्य हुन सकेन । ‘कामना’, ‘साधना’ र ‘महानगर’ जस्तो सफलताको स्वाद ‘समाचारपत्र’ले अनुभूत गर्नै पाएन ।
दरबार हत्याकाण्डको त्यो समाचार
०५८ जेठ १९ गते पुष्करलाल कार्यालयबाट भर्खर घर पुगेका थिए । एम्बुलेन्सको कर्कश आवाजले उनको कान टट्टाइरहेका थिए । छिनमै हेलिकप्टर आएर घरछेउकै (छाउनी) सैनिक अस्पतालको हेलिप्याडमा बस्यो । उनको घरसँग साँध जोडिएको थियो— स्वयम्भूस्थित सैनिक हस्पिटल । कौसीमा निस्किएर हेरे । एम्बुलेन्सको लाइन थियो । हेलिकप्टर आएर बस्यो र फेरि गयो । फेरि आयो र फेरि गयो । केही गडबढ पक्कै भएको छ— उनले अनुमान लगाए ।
पुष्करलालको मोबाइल बजेको बज्यै गर्न थाल्यो । कोही ‘दरबारमा माओवादी पसेर गोली हान्यो रे’ भन्थे । कोहीचाहिँ ‘गोली हैन, बम हानेर दरबार नै सखाप पारे रे’ भन्थे ।
राति साढे ११ बजेसम्म केही पनि पुष्टि भएन । यद्यपि उनले ‘स्टप द प्रेस’ भनिसकेका थिए । अर्थात् नाइट इडिटरलाई पहिलो पृष्ठ खाली राख्न भनेका थिए ।
युवराज दीपेन्द्रका स्वकीय सचिव सौजन्य सुल्पिया जोशी (जसले पुष्करलाललाई कक्षा १ देखि १० सम्म घरमै आएर ट्युसन पढाएका थिए)लाई फोन गरे । फोन उठ्यो । उनकी श्रीमतीको आवाज सुनियो, “उहाँ त दरबार जानुभएको छ ।”
उनको जवाफले दरबारमा केही भइरहेको छ भन्ने पुष्टि भयो । तर भयो के ? केही थाहा थिएन । जसरी पनि थाहा पाउनु थियो । फोन गरे जोशीलाई । फोन उठ्यो ।
फोन उठाएर उनले केही नबोली सिधै हकारे, “यस्तो बेलामा पनि तिमीलाई फोन गर्नुपर्छ ? किन गरेको ? पछि गर्छु ।” यति भन्दै उनले फोन काटे ।
हतास सौजन्यको त्यो व्यवहारले दरबारमा ठूलै घटना भएको पुष्टि ग¥यो । तर के ? अझै पत्तो लागेन ।
मोहनबहादुर पाण्डे दरबारका संवाद सचिव थिए, जो पुष्करलालका बुवाका मिल्ने साथी थिए, प्रहरी अधिकृत हुँदा । सवा १ बजे उनी आफैंले फोन गरेर सोधे, “के छ खबर ?”
पुष्करलालले उनको सोधाइबाटै थाहा पाइसकेका थिए । तर पनि उनी यसलाई कत्तिको थाहा रहेछ भनेर सोध्दै थिए । पुष्करलालले भने, “दरबारमा गोली चल्यो भन्ने सुनेको छु । सरकारसहित परिवारका सदस्यहरूको हताहती भएको छ रे !”
“मैले किन फोन गरेको थाहा छ ?” पाण्डेले भने ।
पुष्करलालले भने, “म त हजुरलाई फोन गर्छु भनेर बसिरहेको थिएँ । हजुरले नै कल गर्नुभयो । मलाई त इन्फर्मेसन पनि भयो । राम्रै भयो नि !”
“जे पायो त्यही भन्छ । न्युजस्युज छाप्ने होइन ।”
पुष्करलालले सोधे, “किन ?”
गम्भीर भएर पाण्डेले भने, “यस्तो घटना घटेको छ कि नेपाली जनताले तुरुन्तै यो स्वीकार गर्नै सक्दैन । यसको ठूलो असर हुन्छ । त्यसैले समाचार छाप्नेसाप्ने कुरा नगर । मैले ‘कान्तिपुर’ अनि अरु पत्रिकातिर पनि भनिसकें ।”
पौने २ बजे दीपेन्द्रका स्वकीय सचिव सौजन्यले आफैं कल गरेर फेरि ठूलो स्वरमा भने, “ल भन, अघि किन कल गरेको ?”
पुष्करलालले भने, “राजपरिवारका सदस्य सबै मरिसकेको भन्ने सुनेको छु ।”
सौजन्यले सोधे, “को–को मरेको भन्ने सुन्यौ ?”
पुष्करलालले भने, “राजा वीरेन्द्र…”
सौजन्य हच्किए ।
“मैले मरेकाहरूको नाम भन्दै जाँदा नमरेको व्यक्तिको पनि नाम लिएछु । अनायासै उहाँको मुखबाट फुत्कियो, ‘कहाँ हो उहाँ ? होइन ।”
पुष्करलालले कुराकानीमा क–कसको मृत्यु भइसकेछ भनेर थाहा पाए ।
मोहनबहादुरले फेरि फोन गरेर पुष्करलाललाई भने, “मैले भनेको कुरा याद छ हैन ?”
पुष्करलालले भने, “देशमा यस्तो घटना घटेको छ, समाचार नलेखेर के म पसल थापेर बसौं त ?”
पौने २ बजिसकेको थियो । मोहनबहादुरले सम्पादक कपील काफ्लेलाई फोन गरेर भनेछन्, “त्यो (पुष्करलाल) नेवारको छोरो सुरो छ, कुरो बुझ्दैन । तपाईंको प्रधान सम्पादकलाई सम्झाउनु पर्यो । समाचार छाप्नु भएन ।”
कपीलले पुष्करलाललाई फोन गरेर सुनाए, “यस्तो फोन आयो । हामीले मात्रै देशको ठेक्का लिएका छौं र ? भइगो, छोड्दिऊँ होला ।”
पुष्करलालले भने, “हुँदैन । सबै इन्फर्मेसन मैले पाइसकेको छु । ‘स्टप द प्रेस’ भनिसकेको छु । जसरी पनि छाप्ने हो, बरु तपाईं पनि आउनुस् ।”
पौने ३ बजे सीएनएन, बीबीसी टेलिभिजनमा स्क्रोलिङमा दरबार हत्याकाण्डको समाचार आउन थालिसकेको थियो । झनै अधैर्य भए उनी । सात समुद्रपारिका मिडियाले त समाचार दिइसके, हामीले भने नदिने ? आफैंले आफैंलाई प्रश्न गरे ।
त्यहीबेला पुष्करलालले बुवाको मृगौला प्रत्यारोपण गरेर घरमा ल्याएका थिए । पुष्करलाल अफिस जान्छु भनेर ढोकामा पुगेका थिए । आमा ढोकामा बार बनेर उभिइन् र जानु पर्दैन भनेर दुई हातले ढोका छेकिन् । बुवाले पनि नजान भने ।
बाहिर सेनाले मार्च पास शुरु गरिसकेको थियो । हातमा टर्च बोकेर उनी लुखुरलुखुर अफिस हिँडे ।
रात्रिकालीन डेस्कमा राजेश बज्राचार्य थिए । समाचार लेख्न त लेख्ने तर के भनेर लेख्ने ?
दरबारबाट तारन्तार फोनमा ‘समाचार नलेख्न’ उर्दी आइरहेको थियो । उनीहरूलाई थाहा थियो— एक शब्द तलमाथि भयो भने मात्रै पनि दरबारले छोड्नेवाला छैन ।
राजा, रानीको हत्या भइसक्यो भनेर पनि लेख्न सक्ने अवस्था थिएन । फलानोले गोली हान्यो भनेर पनि भन्न नसकिने । त्यसो भए लेख्नेचाहिँ के ?
पुष्करलालले ‘संविधान ल्याऊ, हेरौं के छ’ भने । कानुनबाट पनि बच्ने र पाठकलाई पनि कसरी सूचना दिन सकिन्छ भन्ने आइडिया खोज्न थाले । आइडिया फुर्यो ।
राजासहित मरेका ६ जना राजपरिवार सदस्यको तस्बिर माथि राख्ने । ‘दरबारमा गोलीकाण्ड, ठूलो हताहती’ भनेर समाचारको शीर्षक राख्ने ।
तर, समाचारमा राजगद्दी खाली भएपछि कसरी नयाँ राजा राज्यारोहण गर्छन्, नेपालको संविधानले कसरी नयाँ राजा छान्छ भन्ने जानकारीसहित संविधानलाई ‘कोट’ गरे ।
काठमाडौं र विराटनगरबाट डेढ लाख प्रति पत्रिका छापियो । अरु कुनै पत्रिकाले पनि दरबारको समाचार छापेनन् । पत्रिका लिन ‘समाचारपत्र’को कार्यालयमै नागरिक आइपुगे । पुष्करलालले कागज अभावमा डेढ लाखभन्दा धेरै प्रति छाप्न सकेनन् ।
केही घण्टामा ‘समाचारपत्र’को पहिलो पृष्ठको फोटोकपी सय–डेढ सय रुपैयाँमा बिक्री शुरु भयो । सीएनएन, बीबीसीले अर्को दिन काठमाडौंका सडकमा जनताले ‘समाचारपत्र’ पढिरहेको दृश्य देखाए ।
मनमोहन अधिकारीको मृत्युको खबर
नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ०५६ वैशाख १३ गते बिहान पौने ३ बजे त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो । मृत्युको समाचार कुनै पनि राष्ट्रिय दैनिकले छापेनन् ।
तर, बिहान साढे ६ बजे प्रकाशन भएको ‘समाचारपत्र’ले आफ्नो पूरै प्रथम पृष्ठ मनमोहनको निधन, राजनीतिक यात्रा, उपलब्धि तथा पारिवारिक पृष्ठभूमिबारे छाप्यो ।
मोफसल झर्ने पहिलो पत्रिका
राजधानीबाट प्रकाशन हुँदै आएका कुनै पनि ब्रोडसिट दैनिक राजधानीबाहिरबाट प्रकाशन शुरु गर्ने श्रेय पनि पुष्करलालले नै लिए । ‘समाचारपत्र’ नै पहिलो पत्रिका हो, जसले विराटनगरबाट आफ्नो प्रकाशन आरम्भ गरेको थियो ।
“दोस्रो मुलुकबाट नेपाली पत्रिकाको संस्करण प्रकाशन गर्ने पहिलो पत्रिका पनि समाचारपत्र नै हो,” पुष्करलाल अन्तिममा सुनिन्छन्, “कतारबाट हामीले प्रकाशन शुरु गरेका थियौं । भलै त्यसलाई हामीले मेन्टेन गर्न भने सकेनौं ।”
तस्बिरः सौरभ रानाभाट
याे सामाग्री बाह्रखरीबाट साभार गरिएकाे हाे । (सम्पादक)











प्रतिक्रिया