महिला सशक्तिकरणमा समग्रको योगदानबारे अन्तरक्रिया

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा महिला सशक्तिकरणमा समग्रको योगदानबारे
अन्तरक्रिया गरिएको छ । बेसीशहर नगरपालिका– ६ स्थित उपल्लो मकैडाँडाका महिलाहरूको सशक्तिकरणका लागि समग्र विकास सेवा केन्द्र(समग्र)ले विशेष योगदान बारेमा अन्तरक्रिया गरिएको हो ।

उक्त गाउँमा सिर्जशील आमा समुह अर्थात सामाजिक परिवार गठन गरी समग्रले सो परिवारमा आवद्ध महिलाहरूका लागि सञ्चालन गरेका क्षमता अद्धिवृद्धि तथा आय आर्जनका कार्यबाट महिलाहरूको सशक्तिकरण भएको समूहकी सदस्य रजनी रिमालले बताउनु भयो । उहाँका अनुसार आफूले ५१ दिने तारकारी खेतीको तालिम लिएर आएपछि नर्सरी स्थापना गरी गाउँघरका दिदीबहिनीलाई मौसमी र बेमौसमी तरकारीका विरुवा वितरण गर्ने गरेको । त्यस कार्यले विगतमा तरकारी किनेर खाने गरेका परिवार तरकारीमा आत्म निर्भर बनेका छन् भने केही परिवारले तरकारी विक्रीबाट आफ्नो घर खर्च, बालबच्चको स्कूलको फि, उनीहरूको खाजाखर्च आदिको जोगाड गर्न सकेको बताएका छन् ।

त्यस्ती एक महिला हुनुहुन्छ– विष्णुमाया रिमाल । उहाँका दुई छोरा बोर्डिङ स्कूलमा कक्षा– ८ र नर्सरीमा पढिरहेका छन् । श्रीमान् नेपाली सेनामा कार्यरत रहे पनि घरखर्चमा खासै सहयोग नगर्ने गरेका कारण आफूले तरकारी खेती गर्न थालेपछि श्रीमान्सँग खर्च माग्न नपरेको उहाँ बताउनुहुन्छ ।
यसैगरी, सोही गाउँका भक्तबहादुर रिमाल(क)ले टनेलमा गोलभेडा, बन्दा, कोवी आदिको खेती गरी वार्षिक ३०– ३५ हजार बचत गर्न सकेको बताउनु भयो । यसैगरी, उक्त संस्थाका अध्यक्ष कृष्णकुमारी रिमालले समग्रबाटै दिएको ८ दिने लेखा परीक्षण र नेतृत्व क्षमता विकास तालिमले आफ्नै नेतृत्वमा ज्योतिपूञ्ज बचत तथा ऋण
सहकारी संस्था लि. खोल्न र संस्थाको अध्यक्ष बन्ने क्षमताको विकास गर्न सकेकोबताउनु भयो ।

२०६९ सालमा स्थापना गरिएको सो सहकारीले हाल १ करोडको कारोबार गर्न सफल भएको उहाँले जानाकरी दिनु भयो । उहाँका अनुसार सुरुका दिनमा ५ रुपैया मासिक बचत गर्ने गरेको संस्थामा १०, २०, ५० गर्दै हाल रु एक सय मासिक बचत गर्ने गरेको अध्यक्ष रिमालले बताउनु भयो । यसैगरी बचत रकम १३ लाख १५ हजार ४६५ रहेको र नाचगानबाट १९ लाख ६२ हजार ३२६ रुपैयाँ संकलन गर्न सकेको समूहका संस्थापक अध्यक्ष गंगामाया रिमालले बताउनु भयो ।

त्यसबाहेक पाडी पालन, बाख्रा पालन, कुखुरा पालन आदि कार्यका लागि विऊ पूँजी सहयोग गरेर समग्रले स्थानीयको आर्थिक उन्नतिमा भूमिका खेलेको सहभागीहरूले बताएका छन् । पत्रकार साक्षात्कार सहितको अन्तरक्रिया कार्यक्रममा उक्त गाउँका सामाजिक अभियन्ता
एवम नेकपाका वडा संयोजक यमबहादुर रिमालले सो संस्थाबाट भए गरेका कार्यक्रमहरू सहित भावि कार्यक्रमका बारेमा ११ पृष्ठको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यपत्रमा पत्रकार नवराज पहाडीले टिप्पणी गर्नु भएको थियो । सो अवसरमा आस्था फरक भएता पनि गाउँको विकासका लागि कुनै विवाद नभएको र सबै
एक भएर काम गर्ने गरेका कारणले नै यो गाउँको विकास सम्भव भएको नेपाली काँग्रेसको ६ नंबर वडासमितिका सभापति सुवे नरबहादुर रिमालले बताउनु भयो । उक्त सामाजिक परिवारमा उपल्लो मकैडाँडा गाउँका ६३ घरपरिवार सहभागी हुँदै
आएको तत्कालीन चण्डीस्थान गाविसका अध्यक्ष टेकबहादुर रिमालले बताउन७३घढस भयो । उहाँका अनुसार ती परिवारमध्ये ४ परिवार अति विपन्न र १० परिवार विपन्न रहेको तथ्यांक छ तर सो गाउँमा कुनै पनि परिवार दलित तथा जनजाति छैनन् ।

समग्रकी जिल्ला सयोजक मिरा बोहराले सो कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले आफ्नो संस्थाले महिला सशक्तिकरणका लागि मात्र नभई मानव अधिकार र सुशासनका क्षेत्रमा पनि काम गरीरहेको जानकारी दिनु भयो ।