वर्षौं छाडेको घरजस्तै वडा कार्यालय

0
Shares

हेटौंडा ।
हेटौंडा–१७ मा ‘गाविस चोक’ भन्ने ठाउँमा एउटा पुरानो घर देखिन्छ, जहाँ कसैले वर्षौं छाडेकोजस्तो देखिने भवन छ । त्यहाँ घाँसपातका लहरा, पुराना होर्डिङ बोर्डहरु यताउति ढल्किएको अवस्थामा छन् ।
लाग्छ १०÷१५ वर्षअघि त्यो घर कसैले छाडिसकेका हुन् । तर, त्यस्तो होइन । उक्त घर हेटौंडा–१७ वडा कार्यालयको हो, जुन हाल पनि प्रयोगमा छ । चोकैमा रहेको कार्यालयमा दैनिक सेवाग्राही खचाखच भरिन्छन् । भवन पुरानो र लेऊ लागेको मात्र होइन, सरकारी निकायबाट प्रदान गरिने सेवामध्ये नागरिकको ‘सूचनाको हक’ नागरिक वडापत्रसमेत लथालिंग छ ।

कार्यालयबाट प्रदान गरिने सेवासुविधाका लागि अनिवार्य राख्नुपर्ने नागरिक वडापत्रसमेत नभएको अवस्था छ । नगरका ५ र ११ नम्बरलगायत सात वटा वडा कार्यालयलाई भाडा तिरेर बस्नुपर्ने अवस्थामा १७ नम्बर वडा कार्यालयले भने आफ्नै भवनलाई समुचितरुपमा व्यवस्थित गर्न सकेको छैन ।
सरकारी निकायमा सेवा लिन जाने नागरिकले वडापत्र हेरेर कुन शाखाबाट सेवा लिने हो भन्ने छुट्याउन सजिलोका लागि नागरिक वडापत्र अनिवार्य राख्नुपर्ने हुन्छ । वडा कार्यालयबाट नागरिकताको सिफारिस र नागरिकताको प्रतिलिपि लिन सिफारिस, बहाल करको लेखाजोखा सिफारिस, घरजग्गा करको सिफारिस, जन्ममिति प्रमाणित, ब्यापार÷व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा हुँदै नभएको भन्ने अन्य सरकारी कामले आएका सर्वसाधारणले दैनिक वडा कार्यलय खचाखच भरिन्छ ।

जनताको प्रत्यक्ष सरोकार रहने सरकारी कार्यालयमा नागरिकले देख्ने गरी नागरिक वडापत्र राख्नुपर्ने सरकारी निर्देशिकामा उल्लेख छ । वडापत्रमा सरकारी कार्यालयले गर्ने कार्यसम्पादनबारे उल्लेख हुनुपर्ने निर्देशिकामा जनाइएको छ ।
कतिपय सेवाग्राहीहरु कामको मेसो नपाएर यताउति बरालिरहेका हुन्छन् भने कतिपय आफूले चिनेजानेको मान्छे खोज्न भौंतारिरहेका हुन्छन् ।

उपमहानरपालिकाको अतिव्यस्त रहने वडा कार्यालयमध्ये वडा–१७ को हटिया पनि एक हो । स्थानीय तहको चुनाब भएको १६ महिना नाघिसक्दा हटिया, नगरपालिकाबाट उपमहानगरपालिका भएदेखि नागरिक वडापत्रविहीन छ ।
उक्त वडाका शोभित प्रधानले वडापत्र कार्यालयमा नहँुदा आफूहरुलाई समस्या परेको प्रतिक्रिया दिनुभएको छ । कार्यालयमा काम पर्दा कर्मचारीलाई सोध्नुपर्ने हुन्छ । पढेलेखेका युवालाई समेत नागरिक वडापत्र नहँुदा कुन शाखाबाट के सेवा लिन सकिन्छ भन्ने कुरा थाहा पाउन नसकेको उहाँले बताउनुभयो ।

सेवाग्राही शुक्रराज प्रजाले वडापत्र सर्वसाधारणका लागि अत्यावश्यक रहेको बताउनुभयो । कार्यालयमा सेवा लिन आएका वृद्धले सबै जानकारी नपाउँदा कठिन त हुन्छ नै, युवा र पढेलेखेकालाई पनि उत्तिकै समस्या हुने गरेको प्रजाले बताउनुभयो ।
नगरका अन्य वडाको हालत पनि त्यस्तै छ । भएकामा पनि खिया परिसकेको टिनलाई र च्यातिएको ब्यानरलाई ‘वडापत्र’ का रुपमा प्रयोग गरिएको छ । वडा अध्यक्ष भैरवबहादुर राईले गत वर्ष आफू निर्वाचित हुँदाको अवस्थामै वडापत्र लथालिंग अवस्थामा रहेको बताउनुभयो । उक्त भवनका लागि आफूहरुले त्यति ध्यान दिन नसकेको राईले स्वीकार गर्नुभयो । स्थानीय निकायलाई सबै अधिकार प्राप्त छ भन्ने कुरा कुरामा मात्र भएको तर व्यवहारमा लागु हुन नसकेको राईको गुनासो छ ।

उहाँका अनुसार गतवर्ष यसका लागि बजेट नभएर नै वडापत्र तथा रंगरोगन गर्न नसकिएको हो । तर, यसपलि भने भवन सुधारका लागि दुई लाख ८८ हजार बजेट छुट्याइएको उहाँले बताउनुभयो । राईले भन्नुभयो–अब रंगरोगन गरी कार्यालयलाई सुन्दर बनाइनेछ ।