‘स्वरोजगारका लागि बिनाधितो ऋण ’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले युवा स्वरोजगारमार्फत उत्पादन तथा उद्यमशीलताको विकासका लागि बिनाधितो ऋण लगानी गर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित ‘युनस सोसियल विजिनेस च्यालेन्ज २०१८’ विषयक कार्यक्रममा बोल्दै मन्त्री विष्टले बिनाधितो ५ देखि १० लाख रुपियाँसम्म ऋण लगानी गर्न सरकार तयार रहेको बताउनु भएको हो । ‘हजारौं युवालाई स्वरोजगार बनाउने गरी बिना कुनै धितो ऋण उपलब्ध गराउने सरकारको योजना छ । अहिलेका युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको छ ।

सानो पुँजीको अभावमा कोही पनि युवा उद्यमशील बन्नबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’ मन्त्री विष्टले भन्नुभयो । युवा स्वरोजगारका लागि चालँ आर्थिक वर्षमा बजेटसमेत विनियोजन भएको भन्दै उहाँले युवामा उद्यमशील हुने मानसिकता, जोश र सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।

सोही कार्यक्रममा किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले युवा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षदेखि ऊर्जा, कृषि, पर्यटन, महिला सहभागितालगायत विषयमा युवा उद्यमशीलता विकास र सामाजिक दायित्व निर्वाहका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

‘सोसियल विजनेस’ प्रतियोगितामा यसपटक ५५ वटा युवा उद्यमी समँहले आवेदन दिएकामा विभिन्न चरणमा छनोट भई १० वटा समँह अन्तिम प्रतिस्पर्धा पुगेका छन् । यीमध्ये विजेता ५ समँहलाई विभिन्न ५ शीर्षक क्रमशः प्रतियोगिताको शीर्षक विजेतालाई एक लाख, दिगो कृषिलाई ४५ हजार, दिगो पर्यटनलाई ५० हजार, महिला सहभागितालाई ५० हजार र वैकल्पिक ऊर्जालाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।