इमर्सन नागाग्वाद्वारा राष्ट्रपतिको सपथग्रहण


हरारे ।
जिम्बाबेको राष्ट्रपतिमा इमर्सन नानगाग्वाले आइतबार औपचारिक रुपमा सपथ ग्रहण गर्नु भएको छ ।

लामो समय शासन गरेका रोवर्ट मुगावेको बहिर्गमनपछि भएको पहिलो निर्वाचनबाट निर्वाचित भएर उहाँले पूर्ण अधिकार सहितको राष्ट्रपति बन्नु भएको हो ।

“म इमर्सन डाम्बुड्जो नानगाग्वाले जिम्बाबेका लागि इमान्दारितापूर्वक काम गर्नेगरी गणतन्त्र जिम्बाबेको राष्ट्रपति पदको सपथग्रहण गर्दछु,” सपथग्रहण गर्दा उहाँले भन्नुभएको छ ।

हरारेमा रहेको एउटा रंगशालामा हजारौँ समर्थकहरुको बीचमा उहाँले सपथ ग्रहण गर्नु भएको समाचारमा जनाइएको छ ।

“मैले जिम्बाबेका नागरिकको अधिकारको संरक्षण र प्रवद्र्धन गर्नेछु, त्यसैले मलाई भगवानले साथ दिनुहुनेछ,” उहाँले भन्नु भएको छ ।

जिम्बाबेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर मुद्दाको विपक्षमा शुक्रबार फैसला सुनाएपछि आइतबार उहाँले सपथग्रहण गर्नुभएको हो ।

शुक्रबार सुनाइएको फैसलामा भनिएको छ, “निर्वाचनमा भएको धाँधली सम्बन्धी अध्ययनमा अदालतको अन्तिम निष्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने खालको प्रत्यक्ष, प्रशस्त र विश्वसनीय आधार भेटिएको छैन ।”

प्रधानन्यायाधीश लुक मालालाले संवैधानिक अदालतको फैसला सुनाउँदै गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन नानगाग्वा निर्वाचित भएको अदालतले शुक्रबार ठहर गरेको जानकारी दिनु भएको थियो ।

जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज ९एमडीसी० ले नागाग्वा विजयी भएको परिणाम अस्वीकार गरेको थियो । विपक्षी गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भन्नुभएको थियो ।

जिम्बाबेको निर्वाचन आयोगले निर्वाचन निष्पक्ष रुपमा भएको र कुनै धाँधली नभएको दावी गरेको थियो । यो चुनाव सम्पन्न भएपछि नै मतगणना जारी रहेकै बेलादेखि विपक्षी गठबन्धनले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो । उसको विरोधका कारण देशव्यापी रुपमा हिंसा पनि मच्चिएको थियो ।

गएको नोभेम्बरमा ९४ वर्षीय पूर्व राष्ट्रपति रोबर्ट मुगाबे सत्ताच्युत भएपछि जिम्बाबेमा पहिलोपटक संसद र राष्ट्रपतिको निर्वाचन भएको हो । तत्कालीन उपराष्ट्रपति नान्गाग्वा मुगाबेलाई पदबाट हटाइएपछि नै राष्ट्रपति हुनुभएको हो ।

परिणामअनुसार नान्गाग्वाले २४ लाख ६० हजार ४६३ मत प्राप्त गर्नुभएको छ । यो मत परिणाम यहाँको निर्वाचनमा खसेको कूल मतको ५०।८ प्रतिशत हो ।

त्यसैगरी विपक्षी नेता नेल्सन चामिसाले २१ लाख ४७ हजार ४३६ अर्थात् ४४।३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगद्वारा सार्वजनिक परिणाममा जनाइएको छ ।

निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीले राजधानी हरारेमा गरेको प्रदर्शन दबाउन प्रहरी र सेनाले चलाएको गोली लागेर छ जना भन्दा बढीको मृत्यु भएको थियो ।

अदालतले विपक्षीको दावीलाई गलत ठहर गर्दै नानगाग्वाको पक्षमा फैसला गरेपछि जिम्बाबेको अबको बाटो केही प्रष्ट भएको देखिएको छ । उहाँले अब केही दिनमै नयाँ सरकार गठन गर्नु हुनेछ ।

झण्डै चार दशक मुगाबे शासन रहेको जिम्बाबेमा निर्वाचनबाट नयाँ सरकार गठन हुने भएपछि विश्वले नै यसलाई आशावादी र सकारात्मक रुपमा हेरेको छ ।
रासस