रौतहट डुंगा दुर्घटना अपडेटः ४० बेपत्ता मध्य २२ सम्पर्कमा आए

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
रौतहटमा डुंगा दुर्घटनामा परी बेपत्ता भएका भनिएका मध्य २२ जना सम्पर्कमा आएका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार २२ जना प्रहरी सम्पर्कमा आएका छन्।

डुंगा चालक इस्नाथ नगरपालिका बन्जाराहाका पप्पु सिंह, गौर ४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सहनी र ५२ वर्षीया सीतापति देवी सहनीसहित २२ जना खोला तैरिएर सकुशल प्रहरी सम्पर्कमा आएको रौतहटका प्रहरी प्रमुख केदार ढकालले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी बेस क्याम्पस अरहैयाका सशस्त्र प्रहरी निरीक्षक रामबालक प्रसाद साहले दिएको जानकारी सशस्त्रको टोलीले गौर ४ का जयप्रकाश गिरी, सुखियादेवी सहनी, शिरिभगवान यादव, महेन्द्र सहनी, विश्वनाथ साह, अंगद कश्वान, सन्तोष दास, गजेन्द्र सहनीलाई उद्दार गरेको छ।

बन्जरापट्टी १५ जना सम्पर्क आइसकेको र टिकुलियाघाटतर्फ ७ जना गरी २२ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख ढकालका अनुसार अन्यको खोजी भइरहेको छ। सयभन्दा सुरक्षाकर्मी, स्थानीय पौडीबाज, विपद व्यवस्थापनसँग सम्बन्धि संस्थाका स्वयं सेवक परिचालन गरिएको छ।

बन्जाराहबाट सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको डुंगालाई शनिबार साँझ लालबकैया खोलामा आएको बाढीले शनिबार साँझ ७ बजेतिर बगाएको हो। ढुंगा चालक सिंहले प्रहरीलाई बताएअनुसार ढुंगामा ४० जना जति सवार थिए। बन्जाराहबाट सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गर्दा करिब साँझ ७ बजेतिर लालबकैया नदीमा आएको बाढीको भेलले डुंगालाई पल्टाएको र डुंगामा घाँस काट्न आएका महिला पुरुष सवार रहेको बताइएको छ ।