न्यून गुणस्तरका खाद्यान्न उत्पादन गर्ने नौ उद्योगविरुद्ध मुद्दा



सरोज यादव, विराटनगर ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने पूर्वका एक दर्जन उद्योगविरूद्ध मुद्दा दर्ता भएको छ । न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन गर्ने पूर्वका तीन जिल्लाका ९ उद्योगविरूद्ध १३ वटा मुद्दा दर्ता भएको हो। औद्योगिक क्षेत्रको रूपमा ख्याति प्राप्त गरेको प्रदेश नं १ का सुनसरी, मोरङ र झापाका ९ उद्योगलाई कारवाहीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जिल्ला प्रशासन कार्यालयमा कारवाहीको लागि मुद्दा दर्ता गराएको जनाएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आयोजना गरेको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रमा दैनिक उपभोग गर्ने वस्तु उत्पादन गर्ने उद्योगले न्युन गुणस्तरको उत्पादन गरेको भन्दै मुद्दा दर्ता गराएको जनाएको छ । न्युन गुणस्तरको खाद्यवस्तु उत्पादन गर्ने झापाको सागरमति फुड्स एण्ड बेभरेज प्रालि शनिअर्जुन झापा, सूर्य होटल गौरादह, धिरज चामल उद्योग गौरीगञ्ज, श्रीहरि टि इन्डष्ट्रिज प्रालि भद्रपुर, नेपाल चिया विकास निगमसहित ५ वटा रहेका छन् । मोरङका बाबा भेजिटेवल आयल ई प्रालि कटहरी, श्री बाग्मती आयल उद्योग, सुनसरीका तरहरा सपिङ सेन्टर इटहरी, तरहरा सपिङ सेन्टर इटहरी, विमल फुड प्रोडक्ट इटहरी छन् ।

नेपाल चिया विकास निगमले उत्पादन गर्ने चिया न्युन गुणस्तरको भन्दै दुई पटक र तरहरा सपिङ सेन्टरले उत्पादन गर्ने रहरको दाल न्युन गुणस्तरको भन्दै दुई पटक जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको क्षेत्रीय प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।
सागरमति फुड्स एण्ड बेभरेज प्रालिले उत्पादन गर्ने कार्बोनेटेड बेभरेज, धिरज चामल उद्योगले उत्पादन गर्ने चामल, हरि टि इन्डष्ट्रिज प्रालिको लेवल विवरण अपूर्ण र न्युन गुणस्तर, नेपाल चिया विकास निगमले उत्पादन गर्ने चिया, मोरङका बाबा भेजिटेवल आयलले सोयाविन तेल, बाग्मती आयल उद्योगको सनफ्लावर तेल र विमल फुड प्रोडक्ट प्रा.लिको भूजिया न्युन गुणस्तरको पाइएको कोइरालाले बताए ।
मुद्दाको फैसला नभए पनि मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने निम्न गुणस्तरको उत्पादन भइरहेको पाइएको छ । क्षेत्रीय प्रमुख कोइरालाका अनुसार दूध तथा दुग्ध पदार्थ, तेल तथा ध्यूजन्य खाद्यान्न, मसला, पानी जस्ता खाद्य वस्तुमा न्युन गुणस्तरको पाइने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्